
विराटनगर, २० माघ । आन्दोलनमा सहयोग माग्न विहार पुगेका मधेसी मोर्चाका नेताहरु बुधबार स्वदेश फर्किएका छन् ।
पटना हुँदै विराटनगर पुगेका नेताहरुले बुधबारै पत्रकारहरुसँग कुराकानी गर्दै अनौठो कुरा बोलेका छन् । त्यसमध्येका प्रमुख सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलन परिवर्तन हुने कुरा बोलेका हुन् ।
यसअघि नाकाबन्दी र आन्दोलन थप कडा पार्ने भन्दै आएका महतो विहारबाट फर्किएपछि एकाएक आन्दोलन फिर्ता लिने मनस्थितीमा देखिएका हुन् । उनी निकट स्रोतका अनुसार नाकाबन्दी आन्दोलन फिर्ता लिन विहारका नेताबाट समेत दबाब परेको बुझिएको छ । अन्य आन्दोलनमा सघाउन तयार रहेको तर, नाकाबन्दी खोल्नुपर्ने दबाब विहारी नेताहरुले दिएको स्रोतको भनाई छ ।

पत्रकार सम्मेलनमा महतोले माग पूरा नभएसम्म आन्दोलन जारी रहने तर जनताको समस्या हेर्दै स्वरुपमा भने केही परिवर्तन हुन सक्ने बताए । उनले मधेस आन्दोलनमा बिहारका नेताहरुले पूर्ण समर्थन जनाएको जानकारी दिए ।
न्याय र अधिकारका लागि भइरहेको आन्दोलनमा अन्तर्राष्ट्रिय जगतको सहयोग लिने पूरानो परम्परा अनुसार नै आफूहरु बिहार गएको उनको स्पष्ट पारे । साथै यो कुरा ठूलो बनाएर वितन्डा मच्चाउन आग्रह गरे ।
केही दिनअघि आन्दोलनमा समर्थन माग्न भन्दै मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्रराय यादव लगायत विहार गएका थिए । जहाँ राष्ट्रिय जनता दलका अध्यक्ष लालु यादव, उपाध्यक्ष एवं पूर्वमन्त्री रघुवंश सिंह लगायतसँग भेटेर सहयोगको याचना गरेका थिए । त्यसक्रममा लालु यादवले मधेस आन्दोलनमा १० लाख विहारी पठाउने आश्वासन दिएका थिए ।












प्रतिक्रिया