१४ कार्तिक २०८३, शनिबार

विभिन्न देश पठाउने तयारीमा रहेको ९० किलो चरेससहित ५ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० माघ । अवैध लागुऔषध चरेस ९० किलो ५६ ग्राम र नगदसहित पाँच जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका नारायणचोक बस्ने धादिङ सेर्तुङका हेरमान तामाङ, नुवाकोट बुङताङका अक्कलबहादुर तामाङ, धादिङ बसेरीका धनबहादुर गुरुङ, सोही ठाउँका ३१ वर्षीय नरबहादुर गुरुङ र धापासी बस्ने तनँहु बन्दीपुरका डिबी भन्ने दिलबहादुर गुरुङ रहेका छन् ।

हेरमान र अक्कलबहादुर तामाङलाई हेरमानको कोठाबाट अवैध लागुऔषध चरेससहित माघ १८ गते प्रहरीले पक्राउ गरेको थियो ।

उक्त चरेस भारत, चीन, हङकङ, इटली, क्यानडालगायतका देशमा पैठारी गर्न हेम्प सुज, विभिन्न किताब आदिमा लुकाइछिपाई राखिएका थिए । चरेससहित प्याकिङ गर्न प्रयोग गरिने विभिन्न सरसामान, मेसिनसमेत प्रहरीले बरामद गरेको छ ।

चरेस निकासी गर्ने क्रममा ४८ हजार भारतीय रुपैयाँसहित धनबहादुर र नरबहादुरलाई सोही दिन काठमाडौँ महानगरपालिका–७ चाबहिलबाट र चरेस मुद्दाका मुख्य अभियुक्त दिलबहादुरलाई काठमाडौँ पानीपोखरीस्थित लाभा क्याफे अगाडिबाट चिनियाँ युआन १०७, युएस डलर ५८०, हङकङ डलर १२०, चिनियाँ सिमकार्ड एक थानसहित मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।

दिलबहादुरले चरेस कुरियरमार्फत भारत, क्यानडा, इटली, चीन, हङकङजस्ता मुलुकमा निकासी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका दिलबहादुर यसअघि काठमाडौँ जिल्ला अदालतको फैसलाअनुसार लागुऔषध मुद्दामा आठ वर्ष कैद भुक्तान गरी २०७० साउनमा कारागारबाट रिहा भएका व्यक्ति हुन् ।

बरामद अवैध लागुऔषधको स्थानीय बजार मूल्य अनुमानित २७ लाख रुपैयाँ रहेको ब्युरोले जनाएको छ । उनीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ । रासस