
काठमाडौं, २० माघ । सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले आन्दोलनले मधेसी जनता सबै भन्दा पीडित मधेसी जनता नै नभएकोले आफूहरु आन्दोलन रोक्न आतुर रहेको बताएका छन् ।
उनले यसको लागि आफूहरुले उठाएका जायज मागहरुको तत्काल सम्बोधन हुनुपर्ने जिकिर गरे । बुधबार रिपार्टर्स क्लब नेपालको कार्यक्रममा उनले आन्दोलन भने माग पुरा नहुन्जेल जारी रहने बताए ।
मोर्चाका नेता विहार जानुलाई जायज र स्वभाविक भएको दावी गर्दै सुमनले भने- ‘पीडा पर्दा कुटुम्बकोमा गईन्छ । आन्दोलनको विषयमा देश विदेशमा जानकारी गराउने मोर्चाको नीति अनुसार नै नेताहरु विहार जानु भएको हो । विहारका २६ लाख चेली यहाँ बुहारी भएर आएका छन । नेपालबाट २० लाख विहारमा बुहारी भएर गएका छन । हाम्रो विहारमा पारिवारिक, भाषिक, सास्कृतिक सम्बन्ध छ । आफ्नो पीडा सुनाउन जानु स्वभाविक हो । हामीले नैतिक समर्थन खोजेका हौ, भौतिक समर्थन खोजेको होईन ।’
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अबको आन्दोलन मधेस र नाकामा मात्र नभई राजधानी केन्द्रीत हुने र त्यसको लागि स्वरुप परिवर्तन आवश्यक भएको तर्क गरे । उनले भने- ‘अबको आन्दोलन सिंगो मुलुकमा बढाउँछौ । राजधानी केन्द्रीत नभई परिवर्तन हुने स्थिति छैन । त्यसैले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ ।’
यद्यपि उनले आमहडताको कार्यक्रम जारी रहेसम्म भने नाकाबन्दीको कार्यक्रम पनि यथावत रहने स्पष्ट पारे ।












प्रतिक्रिया