
काठमाडौं, १९ माघ । आइसीसी यू–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा नेपाल आयोजक बंगलादेशसँग भिड्ने भएको छ ।
भारतसँग ७ विकेटले पराजित भएर समूह डीको उपविजेता बनेको नेपालले समूह एको विजेता बंगलादेशसँग शुक्रबार उसकै घरेलु मैदान मीरपुरमा खेल्ने पक्का भएको हो । यो खेलले नेपाललाई सेमिफाइनल यात्रा तय गराउने वा नगराउने निधो गर्नेछ ।
मंगलबार बंगलादेशले समूह चरणको अन्तिम खेलमा नामिबियालाई ८ विकेटले पराजित गरेको छ । जितसँगै बंगलादेश समूह एको विजेता बनेको छ भने नामिबिया उपविजेता भएको छ ।
नेपाल समूह डीको उपविजेता हो । समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्ड र दोस्रो खेलमा आयरल्याण्डलाई हराएको नेपाल भारतसँग भने पराजित भएको थियो । समूह ए को उपविजेता नामिबियाले भने क्वार्टरफाइनलमा समूह डीको विजेता भारतसँग खेल्नेछ ।
नेपाल र बंगलादेशबीचको क्वार्टरफाइनल खेल फेब्रअरी ५ (शुक्रबार)मा मीरपुरमा हुनेछ ।















प्रतिक्रिया