काठमाडौं, १९ माघ । दुई सत्तारुढ दल राप्रपा र राप्रपा नेपालले बिचार मिलेसम्म एकीकरण वा सहकार्य गरेर जाने विषयमा छलफल गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेका छन् । वार्ता टोलीले आन्तरिक तयारी गरेर पार्टी एकताका लागि प्रयास गर्नेछ ।
गणतन्त्रलाई स्वीकार गरिसकेको राप्रपा र संवैधानिक राजसंस्थाको पक्षमा रहेको राप्रपा नेपालबीच यसअघि पार्टीले लिने नीतिमा मतभेद हुँदा एकता हुन सकेको थिएन ।
यो विषयलाई मध्यमार्गबाट अगाडि बढाउने गरी वार्ता र सम्वाद हुने राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । ‘राप्रपा नेपालले दुई पार्टी एकताका लागि उच्चस्तरीय वार्ता टोली गठन गरेर कार्यकर्ताको भावना बुझ्ने कार्य भएको छ’, उहाँले भन्नुभयो, ‘हाम्रो पनि उच्चस्तरीय वार्ता टोली गठन भएको छ । अब गम्भीरताका साथ वार्ता हुन्छ ।’
लामो समयदेखि दुई राप्रपाबीच एकीकरणको कुरा चले पनि त्यसले मुर्त रुप भने पाउन सकेको छैन । यसअघ औपचारिक रुपमा वार्ताहरु पनि भएका थिए । वार्ता ठोस सहमति बिनै सक्किएका थिए ।
वार्ता र सम्वादका लागि चासो देखाएको राप्रपाले आफ्ना महामन्त्री बुद्धिमान तामाङको संयोजकत्वमा वार्ता टोली बनाएको छ । वार्ता टोलीका सदस्यहरुमा प्रवक्ता ठाकुर शर्मा, सहप्रवक्ता किरण गिरी, सहायकमहामन्त्रीद्वय भुवन पाठक र हेमजंग गुरुङ तथा केन्द्रीय सदस्य रामकृष्ण भट्टराई र दुर्गा श्रेष्ठलाई राखिएको सहप्रवक्ता गिरीले जानकारी दिनुभयो ।
उता, राप्रपा नेपालले समान विचार भएकाहरुसँग एकता, मोर्चा र सहकार्य गर्दै जाने नीति अनुरुप राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता प्रक्रिया अघि बढाउन उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा वार्ता टोली नै बनाएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
वार्ता टोलीको सदस्यहरुमा उपाध्यक्ष नीरञ्जन थापा, महामन्त्रीद्वय राजेन्द्र लिङ्गदेन, डा. धवल शम्शेर राणा र सहप्रवक्ता मोहन श्रेष्ठ रहेका छन् ।
‘राप्रपा नेपाल र राप्रपाबीच केही राजनीतिक नीतिगत विषयमा छलफल आवश्यक छ’, सहप्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘दुबै पार्टी मिलेर एकता गरी जाँदा कार्यकर्ताको भावना धेरै समेट्न सकिन्छ ।’












प्रतिक्रिया