बुद्ध तामाङ (३५) फोटोग्राफर हुन् । सानो छँदा बुबाको ‘ब्ल्याक एण्ड ह्वाइट’ फोटो देखेका बुद्ध अहिले आफ्नै ‘डीएसएलआर’ क्यामेराले देश विदेशका तस्वीर खिच्दै घुम्छन् । इलामको लक्ष्मीपुरमा जन्मिएका बुद्ध सानोमा क्यामेरा देख्दा अचम्म मान्थे ।
बुद्ध ९ वर्षको हुँदा गाउँकै एकजनाले रिल भएको क्यामेरा ल्याएका थिए । फोटो खिच्दै दिँदै गरेको देखेका बुद्धलाई त्यसबेलादेखि नै फोटोग्राफर बन्ने रहर जाग्यो । भन्छन्, ‘क्यामेरा देख्दा साह्रै अचम्म लाग्थ्यो, यति सानो चिजबाट कसरी फोटो निस्केको होला भनेर हेरिरहन्थेँ ।’
बुद्ध १० वर्षको हुँदा उनकै दाइले क्यामेरा किनेर घरमा ल्याए । दाइको क्यामेरा देखेपछि बुद्धले आफैँ क्यामेरा किन्नका लागि ‘पेवा’ अदुवा रोपे । अदुवाको पैसाबाट २८ सय रुपैयाँमा क्यामेरा किनेका बुद्ध फोटो धुलाउन बिर्तामोडको हिकोला कलर ल्याबसम्म आउँथे । त्यतिबेला पनि उनी राम्रा लागेका दृष्य खिचिहाल्थे । त्यसबेला खिचेका धेरै तस्वीर बुद्धले अझै घरमा राखेका छन् । यासीमा ब्याट्री र रिल हाल्नुपर्ने क्यामेरा चलाउन सिकेका बुद्धसँग अहिले ३ वटा डीएसएलआर क्यामरा छन् ।
विगत सात वर्षदेखि व्यवसायिक फोटोग्राफर बनेका बुद्धसँग फोटो स्टुडियो भने छैन । भन्छन, ‘म फोटोको सौखिन मात्र हुँ ।’ उनी नेपाल टुरिजम बोर्डलाई फोटो बेच्छन् । वर्षमा तीनदेखि पाँचवटासम्म फाटो टुरिजम बोर्डलाई बेच्ने गरेको बुद्ध बताउँछन् । टुरिजम बोर्डले फोटोको गुणस्तर हेरेर एउटाको तीन हजारदेखि ४० हजार रुपैयाँसम्म दिने गरेको उनको भनाई छ ।
पछिल्लो समय फोटोग्राफीमा ह्वात्तै परिवर्तन आएको उनको बुझाई छ । ‘तरपनि फोटोग्राफीमा अझै फ्यूचर छ,’ उनी भन्छन्, ‘हातहातमा मोवाईल भएता पनि एसएलआरले खिचेको र मोवाईलले खिचेको फोटोमा आकाश जमिनको फरक हुन्छ ।’ फोटोग्राफीमार्फत देशको प्राकृतिक चिजलाई विश्वभर देखाउने बुद्धको लक्ष्य छ । समय मिल्नासाथ बुद्ध क्यामेरा बोकेर निस्किन्छन् । उनी कहिले किराफट्याङ्ग्राको ‘क्लोजप सट’ लिँदै हुन्छन्, कहिले खुला आकाशमुनी रमाउँदै हुन्छन् । फोटो खिच्न थालेपछि उनलाई समय बितेको थाहै हुँदैन । सिङ्गापुर र चीनमा खिचेका फोटा साहै्र मन परेको बुद्ध सुनाउँछन् ।
बुद्ध चीन भ्रमणमा पटक–पटक गएका छन् । चीनको ह्वीस्यान प्रान्तमा क्यामरा जता घुमाएपनि मनोरम दृष्यमात्र देखेका उनले त्यहाँ पाँच घण्टा बितेको पत्तै पाएनन् । भन्छन्, ‘रक गार्डेनमा टी–गार्डेन थियो । त्यो दृष्य शब्दमा बोल्नै सक्दिनँ ।’ फोटोग्राफीमा बुद्धका धेरै अविश्मरणीय क्षणहरु छन् । भक्तपुर दरवार स्क्वायर पुग्नासाथ क्यामेरा सोझ्याएका उनलाई सुरक्षाकर्मीले दुव्र्यवहार गरेको उनी सधैँ सम्झिरहन्छन् ।
बुद्धलाई धेरै स्थानमा ‘तपाइँ चाहिँ कुन मिडियाबाट ?’ भनेर प्रश्न सोधिन्छ । ‘व्यवसायिक फोटोग्राफर पनि हुन्छन् भन्ने कुरा मान्छेले बुझ्दै बुझ्दैनन्, उनी भन्छन्, ‘म त मिडियाबाट होइन भन्दा हेपाहा प्रवृत्ति देखियो ।’ फाटोग्राफीमा अनुभवी बुद्ध बिर्ताज्योति साप्ताहिकमार्फत फोटो पत्रकारिता क्षेत्रमा आउने भएका छन् ।
प्रस्तुतिः लक्ष्मी काफ्ले















प्रतिक्रिया