काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे टुंगो नलाग्दै भारतले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई भारत भ्रमणको औपचारिक निम्तोमा बोलाएको छ ।
सरकारको पूरा सयन्त्र, परराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावास प्रधानमन्त्री ओलीको भारत भ्रमणको टुंगो लगाउन लागि परेको बेला भारत सरकारले नेपाली सेनाका प्रमुखलाई अधिक महत्व दिएको छ ।
भारतका स्थलसेनाध्यक्ष जनरल दलवीर सिंहको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षेत्री आज भारत प्रस्थान गरेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति क्षेत्रीलाई भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सम्मान गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुखसँग भेटघाट गर्नेछन् । त्यस्तै उनले भारतका गृहमन्त्री, रक्षामन्त्री, विदेश मन्त्रीलगायत उच्चपदस्थ पदाधिकारीसँग पनि भेट गर्ने कार्यक्रम तय भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
स्रोतले बताए अनुसार नेपाली सेना पनि ओली सरकारसंग रूष्ट रहेको छ । ओली सरकार राजनीतिक समस्या समाधान गर्न नसकेको, सेनाको गलत प्रयोग गर्न पटक पटक दबाब दिएको बुझिएको छ ।
भारत भ्रमणमा जानु भन्दा पछिल्लो पन्ध्र दिनमा प्रधान सेनापति क्षेत्रीले ओलीसंग ४ पटक भेटघाट गरेको स्रोतले जनाएको छ । यो सबै भेटमा प्रधान सेनापति क्षेत्रीले राजनीतिक समस्याको राजनीतिक तवरले नै चांडो समाधान गर्न आग्रह गरेका थिए ।
उनले सुरक्षाकर्मीद्वारा अत्यधिक बल प्रयोग गरेकोले सबै सुरक्षाकर्मीप्रति तराईको जनताको मनमा नकारात्मक असर परेको र सेनालाई पनि त्यसको असर परेको बताएका थिए ।












प्रतिक्रिया