१४ कार्तिक २०८३, शनिबार

डल्फिनको वैज्ञानिक गणना हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolphin

धनगढी, १८ माघ । कैलाली जिल्लाका नदीमा बर्खायाममा देखिने डल्फिनको वैज्ञानिक रुपमा गणना गर्ने पहल थालिएको छ ।

निजी क्षेत्रको डल्फिन संरक्षण केन्द्र थापापुरको पहलमा डल्फिनको वैज्ञानिक रुपमा गणना गर्न लागिएको केन्द्रका प्रमुख एवम् संरक्षणप्रेमी भोजराज श्रेष्ठ ‘गुलेली बाजे‘ले बताउनुभएको छ ।

केन्द्रका सचिव विजय श्रेष्ठ र कैलालीमा पाइने डल्फिन संरक्षणमा लाग्नुभएकी अमेरिकी संरक्षणप्रेमी श्रीमती सारा लेविनले भारतको पटनादेखि भागलपुरसम्म पर्ने गङ्गा नदीको भागमा डल्फिनको वैज्ञानिक गणनासम्बन्धी दक्षता हासिल गरिसकेको बताइएको छ ।

गणनामा भारतको पटना विश्वविद्यालय र भागलपुर विश्वविद्यालय (विहार)का प्राध्यापकले समेत सहयोग गर्न लागेको श्रेष्ठले बताउनुभयो । “वैज्ञानिक गणनाका लागि स्वीकृति लिन सरकारसँग पटकपटक आग्रह गरिसकेको छु,” श्रेष्ठले भन्नुभयो – “आगामी असारदेखि असोज महिनासम्ममा कैलालीका नदीमा देखिने डल्फिनको गणना गर्ने अठोट गरेको छु ।” पानीमा उफ्रिएको अवस्थामा झन्डै सात वर्षअघि गरिएको गणनाबाट कैलालीका नदीमा १३० वटासम्म डल्फिन पाइएको दाबी संरक्षण केन्द्रको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)ले डल्फिन संरक्षणका लागि हालै केन्द्रलाई आर्थिक सहयोग गर्नेबारेमा एक सम्झौता पनि गरेको छ । यो सहयोगबाट स्थानीय बासिन्दाका साथै विभिन्न विद्यालयका विद्यार्थीमाझ डल्फिन संरक्षणसम्बन्धी चेतानामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको छ । कैलाली जिल्लाको मोहना, काँन्द्रा, पथरैया, गौरी नाला, कर्णाली लगायतका नदीमा बर्खायाममा गेङ्गटी प्रजातिको डल्फिन पाइने गरेको छ ।

यो प्रजातिको डल्फिन विश्वमा नेपाल, उत्तर भारत र बङ्गलादेशमा मात्र पाइने गरेको बताइन्छ । मानिस पछिको देस्रो चेतनशील प्राणी डल्फिनलाई मानिन्छ । डल्फिनले पानीभित्रै बच्चा जन्माउने र सुतेको बेला पनि घुमिरहने स्वभावका हुने संरक्षणप्रेमी बताउँछन् । डल्फिनको बासस्थान वरिपरिको पानी निकै शुद्ध हुन्छ भन्ने विश्वाससमेत रहेको छ । रासस