१४ कार्तिक २०८३, शनिबार

०६३ मा वितरित नागरिकता छानविन गर्न चुरे भावर पार्टीको माग, अन्यथा आन्दोलन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chure-1सर्लाही, १८ माघ । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सरकारसँग विगतमा भएको सहमतिअनुसार तराईका जिल्लाहरूमा सेवा केन्द्र स्थापना नहुँदा जनताले दुःख पाएको भन्दै सहमति कार्यान्वयनका लागि दबाव दिएको छ ।

सर्लाहीको हरिवनमा माघको १५ र १६ गते दुई दिन चलेको राष्ट्रिय कार्यकर्ता भेलापछि आयोजित पत्रकार सम्मेलनमा अधयक्ष बद्रीप्रसाद न्यौपानेले पूर्वसहमतिअनुसार तराईका जिल्लाहरूमा सेवा केन्द्र वितारको माग गरे । उनले भने, ‘सरकारले हामीसँग गरेको सहमति १५ दिनमा कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने छौँ । चुरे भावर पार्टीलाई सरकारी पक्षले हेला नगरोस् ।’

राष्ट्रिय कार्यकर्ता भेलाबाट चुरे भावर पार्टीले विभिन्न १२ बुँदे निर्णय गरेको छ । निर्णयअनुसार चरे भावर पार्टीले नागरिकताको विषयलाई राष्ट्रियतासँग जोड्दै नागरिकतामा तीनपुस्ते नाम राख्न माग गरेको छ ।

अध्यक्ष न्यौपानेले नागरिकताका विषयमा सरकारमा रहेका मन्त्री र नेता तथा ठूला दलहरूले जथाभावी निर्णय गरेर नागरिकता वितरणको व्यवस्था गरेकोले यसलाई सच्याइनुपर्ने बताए । ‘नागरिकताको विषय अत्यन्तै सम्वेदनशील छ’, उनले भने, ‘यसलाई हल्का रुपमा हेरिनु हुँदैन । नागरिकतामा तीनपुस्तेको नाम लेखिनु पर्छ ।’

चुरे भावरको राष्ट्रिय पार्टीको राष्ट्रिय भेलाले नागरिकतामा तीन पुस्ते नाम लेख्नुपर्ने, २०६३ सालमा वितरण भएका नागरिकता छानविन गरिनुपर्ने, सदरमुकाममा रहेका सरकारी कार्यालयका शाखा चुरे भावर क्षेत्र (राजमार्ग छेउ) सार्नुपर्ने लगायत माग अघि सारेको छ ।

मधेसी मोर्चाको बन्दले सदरमुकामका कार्यालय ठप्प हुँदा लाखौं जनताले सास्ती पाएको उल्लेख गर्दै अध्यक्ष न्यौपानेले तत्कालै शाखा कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिए । उनले विगतमा भएको सम्झौतमापनि सदरमुकामका कार्यालयको शाखा राजमार्ग आसपास सार्ने निर्णय भएको जनाए ।

चुरे क्षेत्रबाट गिटी, वालुवा र वन पैदावरको चोरी रोक्नपनि भेलाले सरकारसंग माग गरेको छ । ‘हामीसंग विगतमा भएका लिखित सहमति र भेलाले अघि सारेको माग पुरा गर्न सरकारलाई १५ दिनको अल्टिमेट दिन्छौं’, अध्यक्ष न्यौपानेले दैनिक नेपालसँग भने, ‘त्यो पूरा नभए हामी सशक्त आन्दोलनमा जान्छौं ।’

सरकारले वार्तामा बोलाएर जाने बताएका अध्यक्ष न्यौपानेले भने, ‘सरकारले वार्ता र सम्वादमार्फत निकास खोजे चुरे भावर पार्टी तत्काल आन्दोलनमा जाँदैन ।’

Chure-2राष्ट्रिय भेलाले संगठन सुदृढीकरणका साथै संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ । भेलाले संगठन विभाग बनाइ पार्टीका शीर्ष नेताहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले बताए । ‘संगठनलाई चुस्तदुरुस्त बनाउने निर्णय भएको छ’, उनले भने, ‘जिम्मेवारीअनुसार काम नगर्ने नेताहरूलाई विधानमा टेकेर हटाइ अरुलाई जिम्मेवारी तोकिनेछ । यो काम अब छिट्टै हुन्छ ।’

आफ्नो पकड रहेका जिल्लाबाट पाँच हजार बढी कार्यकर्ता उतोर सर्लाहीको हरिवनमा राष्ट्रिय कार्यकर्ता भेला गरेको चुरे भावर पार्टीमा सरकारका दुई मन्त्री पनि सहभागी भएका थिए ।

उपप्रधान एवम् महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनाली र खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह भेलामा सहभागी भइ चुरे भावर पार्टीले उठाएका माग पूरा गर्ने आश्वासनसमेत दिएका थिए ।

चुरे भावर पार्टीका शान्ति सेनाले चारैतिरबाट सुरक्षा दिएको सो भेलामा सहभागीले मधेसी मोर्चाले चलाएको आन्दोलनको दिशा गलत रहेको भन्दै आक्रोश जनाएका थिए । उनीहरूले कुनै पनि मागलाई शान्तिपूर्ण रुपमा अघि सार्न सबै आन्दोलनकारीलाई सुझाव दिएका छन् ।