
काठमाडौं, १७ माघ । नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने खेलाडी तथा प्रशिक्षकलाई आइएमई ग्रुपले सम्मान गरेको छ ।
बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा आयोजित बंगबन्धु गोल्डकपमा जिताउन सफल प्रतिभाशाली नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी एवं खेल पदाधिकारीहरुलाई प्रोत्साहन स्वरूप आइएमई लिमिटेड एवं ग्लोबल आइएमई बैंक लिमिटेडले सयुक्त रुपमा जनही २५ हजारसहित सम्मान गरेको हो ।

ललितपुर सातदोबाटोस्थित एन्फा हाउसमा आज एक कार्यक्रमको आयोजना गरी उक्त सम्मान प्रदान गरिएको हो । सम्मान कार्यक्रम आइएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकालको सभापतित्व एवं अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । प्रतिभाशाली खेलाडीलाई अध्यक्ष ढकाललगायत प्रमुख अतिथी एवं विशिष्ट अतिथीले टीका तथा खादाले सम्मान गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व गर्नु भएका अध्यक्ष ढकालले फुटबल खेलको आफ्नो वाल्यकाल स्मरण गर्दै पछिल्लो समयमा यो खेलमा रुचि बढ्दै गएको उल्लेख गर्दै खेल क्षेत्रमा आफू र आफूसम्बद्ध कम्पनीले सहयोग गर्दै जाने धारणा राख्नुभएको थियो । ग्लोबल आइएमई बैंकले कुनै पनि राष्ट्रिय टिमका खेलाडीलाई शुन्य मौज्दातमा खाता खोल्ने सुविधा तथा निशुल्क एटीएम कार्ड उपलब्ध गराउने घोषणा गरेको छ ।

सम्मान कार्यक्रमलाई आइएमई लिमिटेडका प्रमुख कार्यकारी आइएमई लिमिटेडका कार्यकारी निर्देशक हेम राज ढकाल (रामु), ग्लोबल आइएमई बैंकका निमित्त कार्यकारी अधिकृत जनक शर्मा पौड्याल एवं आइएमईका कार्यकारी प्रमुख सुमन पोखरेलले सम्बोधन गर्दै गौरवशाली जीतकालागि प्रतिभाशाली नेपाली खेलाडी एवं खेल पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राष्ट्रिय फुटबल टिमका टिम कप्तान विराज महर्जन एवं प्रमुख प्रशिक्षक वाल गोपाल महर्जनले नीजि क्षेत्रको रुपमा आइएमई समुहले खेल क्षेत्रलाई दर्शाएको प्रोत्साहनले थप खेल कौशल प्रदर्शन गर्न आफुलाई प्रेरणा मिलेको मन्तब्य व्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथी एवं अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले खेल क्षेत्रमा आइएमई समुहको स्वतस्फुर्त प्रोत्साहनका लागि अध्यक्ष ढकालमार्फत् सवैमा कृतज्ञता व्यक्त गर्नु भएको थियो ।















प्रतिक्रिया