१ कार्तिक २०८३, शनिबार

धुर्मुस-सुन्तलीले बनाएको नमुना बस्तीमा प्रधानमन्त्री (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dharmus-Suntali-Pm (3)

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली नमुना एकीकृत बस्तीको अवलोकन गरेका छन् ।

भूकम्प गएको ३ महिनामै निर्माण सम्पन्न भएको काभ्रे डाँडा गाउँस्थित पहरी बस्तीको करिब नौ महिनापछि प्रधानमन्त्री ओलीले अवलोकन गरेका हुन् । बस्ती अवलोकन पश्चात प्रधानमन्त्री ओलीले धुर्मुस सुन्तलीको सामाजिक कामको प्रशंसा गरे । सरकारले पनि पुनः निर्माणको काम छिट्टै थालनी गर्ने उनले बताए ।

नाकाबन्दीको समस्या समाधानको संघारमा रहेको जिकिर गर्दै उनले नाका सहज पछि पुनः निर्माणमा पनि सहज हुने बताएका छन् । धुर्मुस सुन्तली एकीकृत बस्ती रहेको जमिन गुठीको नाममा रहेकाले घरधनीको स्वामित्वमा ल्याउनका लागि पहल गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन् ।

Dharmus-Suntali-Pm (2)

एकीकृत बस्तीमा ५५ पहरी परिवारमध्ये १८ परिवार बसोबास गर्दै आएका छन् । त्यहाँका बासिन्दाले बाँकी रहेका पहरीहरुको लागि पनि त्यस्तै किसिमको घर बनाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । यस विषयमा पनि आफूले सक्दो सहयोग गर्ने प्रधानमन्त्री ओलीले संकल्प गरेका छन् ।

भूकम्प पश्चात अमेरिकामा रहेको कार्यक्रम छाडेर स्वदेश फर्किएका धुर्मुस सुन्तली लगायतका कलाकार आफैँ खटेर ७७ दिनमा एकीकृत नमुना बस्ती निर्माण गरेका हुन् । अल्पसंख्यक र पिछडिएको जाति पहरीहरुको दयनीय अवस्था रहेकाले २० परिवारलाई धुर्मुस सुन्तलीले घर निर्माण गरिदिएका हुन् ।

Dharmus-Suntali-Pm (4)

नमुना बस्ती निर्माणमा ठूलो खर्च लाग्ने भएपछि उनीहरुले विभिन्न व्यक्ति तथा संस्थासँग सहयोगको अपिल गरेर सो कार्य सम्पन्न गरेका थिए । धेरैले अवलोकन र प्रशंसा गरेका एकीकृत बस्तीका हरेक घरमा धारा र शौचालय छन् । भूकम्पबाट सुरक्षित बस्तीमा बायोग्यास, डिस होमलगायतका सुविधा पनि जडान गरिएको छ । एउटै शैलीका घरले निर्माण भएको बस्ती हेर्दामा पनि निकै राम्रो देखिन्छ ।

Dharmus-Suntali-Pm (1)

आफूहरुले भूकम्प गएको चार महिना नबित्दै भूकम्प प्रभावित पहरीहरुलाई बस्ती निर्माण गरिदिए पनि सरकारले अहिले सम्म काम अघि बढाउन नसकेको सिताराम कट्टेल (धुर्मुस)ले दुःख व्यक्त गरे । भूकम्प प्रभावितहरुको दयनिय स्थिती रहेको भन्दै उनले पुनः निर्माणका लागि निकै ढिलाई भईसकेको बताए । सक्रियता जनाउने हो भने भूकम्पले क्षतिग्रस्त हरेक बस्तीलाई नमुना बस्ती जस्तै बनाउन सकिने उनको दृढता छ ।

Dharmus-Suntali-Pm (5)

एक जोडी कलाकारले एउटा उदाहरणीय बस्ती निर्माण गरेर बाटो देखाईसकेकाले सरकारले चाहेमा यस्ता बस्ती सजिलै निर्माण गर्न सक्ने कुञ्जना घिमिरे सुन्तलीले बताइन् । निर्माण थालनी पश्चात धेरैले सहयोगी मन देखाएकाले नमुना बस्ती बनेको सम्झना गर्दै सबैको सहयोग रहेमा अन्य बस्ती निर्माणको नेतृत्व लिन पनि आफूहरु तयार रहेको उनको भनाई छ ।

गरिबी र पिछडीएको समुदाय आफूहरुको प्राथमिकतामा रहेको बताउँदै उनले महोत्तरीको मुसहर बस्तीलाई पनि नमुना बस्ती बनाउने चाहना रहेको सुनाएकी छिन् ।