
काठमाडौ, १६ माघ । शहीद तथा घाईते सरोकार नागरिक समन्वय केन्द्रले सात बुँदे माग अघि सार्दै आन्दोलनको चेतावनी दिएको छ ।
केन्द्रले शहीद दिवसको अवसर पारेर शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्र्तक्रियामा त्यस्तो माग प्रस्तुत गर्दै आन्दोलनको चेतावनी दिएको हो ।
केन्द्रले विवाद नभएका राणाकालका १०१, पञ्चायतकालका ३८२ शहीद र ३६ जना बेपत्ता गरी ५१९ जनालार्य तत्काल राष्ट्रिय शहीद घोषणा गर्नु पर्ने, विभिन्न समयमा गठन गरिएका आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नु पर्ने, पञ्चाय विरुद्ध लागेकोको भएको सर्वस्वहरण फिर्ता हुनु पर्ने, विभिन्न आन्दोलनमा भएका घाईते, शहीद र बेपत्ता परिवारको उचित ब्यवस्था गर्नु पर्ने, शान्ति मन्त्रालयसँग भएको केन्द्रको चार बुँदे सहमति कार्यान्वयन गर्नु पर्ने, शहीद र घाईते परिवारलाई सेवा सुविधन दिने गरी मन्त्री परिषदले गरेको निर्णय कार्यान्वयन हुनु पर्ने माग अगाडि सारेको छ ।
केन्द्रका अध्यक्ष जेबी धौलाकोटीले आफूहरुको माग यथासिघ्र पुरा नगरी आगामि फागुन ७ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिए ।
अन्र्तक्रियामा उद्योग राज्यमन्त्री मेघराज नेपाली निषदले बर्तमान सरकार केही समय टिके यसले शहीदको सपना पुरा गर्ने दिशामा महत्वपूर्ण काम गर्ने भन्दै अहिलेसम्म शहीदको सम्मान मुलुकले गर्न नसकेको स्विकार गरे ।
शहीदलाई सम्मान गर्न नसके र उनीहरुले देखाएको बाटोमा हिड्न नसके मुलुकमा जतिसुकै लोकतन्त्र आए पनि त्यसको औचित्य नहुने भन्दै बास्तविक लोकतन्त्रको लागि शहीदको सम्मान हुनै पर्ने जिकिर गरे ।
डा. सुरेन्द्र केसीले मल्लिक आयोगले दोषी ठहर गरेकाहरुसँग जोडिएर जनआन्दोलनका शक्तिहरु सरकारमा रहेको भन्दै मुलुकमा अहिले नेपाली जनताले सहादत दिएर गल्ती भएछ भन्ने स्थिति आएको गुनासो गरे ।
उनले मुलुकमा को र के कारणले शहीद भन्ने कुरा अन्यौलता रहेको देश, पार्टी, विचार, सामाजिक, धार्मिक के रुपमा सहदत भएको हो बर्गिकरण हुनु पर्ने भन्दै अहिले राजनीतिक दल चारित्रीक रुपमा रुपान्तरण हुनु पर्ने आवश्यकता रहेको बताए।
उनले भने,‘ मुलुक ढुंगे यूगमा प्रवेश गरेको छ, के यही हो शहीदले देखेको सपना ?’
केसीले मधेस आन्दोलनका कारण मुलुक १ सय वर्ष पछि परिसकेको भन्दै अब राजनीतिक आन्दोलनमात्रै भन्दा पनि शहीदले देखेको सुन्दर मुलुक निर्माणमा सबैको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए ।
अधिकारकर्मी चरण प्रसाईले शहिदको सम्मान लोकतन्त्रको सम्मान हुने भन्दै नेपालमा शहीदको सम्मान नहुँदा लोकतन्त्रकै अपमान हुने गरेको धारणा राखे ।
उनले शहीद भएर गल्ती भएछ भन्ने सोचमा शहीद परिवार पुग्नु मुलुककोलागि विडम्बना पूर्ण अवस्था भएको भन्दै शहीदलाई साँचो रुपमा सम्मान गर्ने हो भने मुलुकलाई स्थायीत्वसहित आर्थिक विकासको बाटोमा लिएर जान आवश्यक रहेको तर्क गरे ।
शहीद प्रतिष्ठानका अध्यक्ष एकराज भण्डारीले सहादतलाई मुलुकको हितमा भन्दा पनि सत्तामा पुग्ने माध्यमको रुपमा बुझीएको भन्दै अहिलेका दलहरु शहीदको सपना पुरा गर्न भन्दा त्यसबाट प्राप्त कुर्सि बचाउन लाग्नुले शहीदको अपमान भएको तर्क गरे ।
भण्डारीले भने,‘ नेताहरुले खोला तरे तर लौरौ विर्सिए ।’
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेताहरुको ध्यान सत्तामा मात्रै केन्द्रीत हुँदा उनीहरुले शहीदको सम्मान गर्न नसकेको भन्दै भाषण गरेर, वर्षमा एक दिन फुलमाला लगाएर शहीदको सम्मान हुन नसक्ने दावी गरे ।
उनले भने,‘ शहीदको सम्मान गर्ने हो भने आजै कसम खानु पर्छ एक दिन भए पनि शहीदले देखाएको बाटोमा हिड्छु भनेर ।’
नागरिक समाजका अगुवा हस्तबहादुर विश्वकर्माले शहीदको बलिदान अहिले अल्मलिएको अवस्थामा रहेको भन्ददै लोकतन्त्रमा शहीदको अपमान गर्ने काम भएको बताए ।
शहीदको सपना नेपाललाई विभिन्न जात जाति धर्म सम्प्रदायको साझा फुलवारीको विकास गर्ने भएकोले जातीय राजनीति नगर्न सुझाव दिए ।












प्रतिक्रिया