
काठमाडौँ, १५ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतीय विदेशमन्त्री सुष्मा स्वराजको औपचारिक निमन्त्रणामा यही माघ २४ गते भारत भ्रमणमा जानुहुने भएको छ ।
भारतमा रहँदा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको कार्यसूची र नेपाल–भारतबीच सहयोग आदानप्रदानका विषयमा भारतीय नेता र आफ्ना समकक्षीसँग छलफल गर्ने कार्यक्रम छ ।
अर्थमन्त्री पौडेलको तीनदिने भारत भ्रमण तय भएको र सो अवसरमा दुई देशको आपसी हित एवम् सम्बन्धका विषयमा कुराकानी हुने उहाँका प्रेस सल्लाहकार मोहन चापागाईंले जानकारी दिनुभयो ।
उहाँका अनुसार अर्थमन्त्री पौडेलले माघ २५ गते अर्थमन्त्री अरुण जेट्लीसँग भेट्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने त्यही गएपछि भेट्ने समय निर्धारण हुने बताइएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फागुन ७ देखि ११ सम्म हुने भएको छ । प्रधानमन्त्रीको भ्रमण यही मितिमा गर्न तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । त्यो बेलासम्म नाका पूर्ण रुपमा सहज हुने विश्वास गरिएको छ । भारत लगत्तै ओलीको दोस्रो भ्रमण चीन हुनेछ ।
पौडेलेको भ्रमणपछि प्रधानमन्त्री भ्रमणको मिति औपचारिक सार्वजनिक हुनेछ । तर फागुन ७ देखि ११ गते सम्म भ्रमण गर्ने गरी अनौपचारिक मिति प्रस्तावित छ ।












प्रतिक्रिया