
काठमाडौँ, १५ माघ । शिक्षाका चालु र नयाँ कार्यक्रम कार्यान्वयनका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयका उच्च अधिकारीसँग दैनिक समीक्षा बैठक आयोजना गर्न थाल्नुभएको छ ।
मन्त्रालयका सचिव, सहसचिव र विभागीय प्रमुखसँग हुने नियमित बैठकमा अघिल्ला दिनको समीक्षा र सो दिन गर्नुपर्ने कामका बारेमा ताजगीकरण भई निर्देशन दिने गरिएको छ ।
मन्त्री काठमाडौँ उपत्यका वा अन्य बैठकमा रहेको अवस्थामा बाहेक दैनिक हुने यस्ता बैठकले कामको प्रभावकारिता बढाउन सहयोग पुग्ने मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले बताउनुभयो ।
अघिल्ला शिक्षामन्त्रीहरूसँग उच्च कर्मचारीकै पहुँच नभएका गुनासो आउने गरेको सन्दर्भमा मन्त्री पोखरेलको सो कार्यलाई नयाँ प्रयोगसमेत मानिएको छ ।
मन्त्री पोखरेलले गत मङ्सिर ४ गते १८ बुँदे शैक्षिक सुधारको प्रतिबद्धता जारी गर्नुभएको छ भने भूकम्पबाट प्रभावित विद्यालयको पुनःनिर्माणका लागि अलग्गै एकाइ खडा गरी काम थालिएको छ ।
अहिले छवर्षे विद्यालय क्षेत्र विकास कार्यक्रमको अवधारणा निर्माण कार्य भइरहेको छ । रासस












प्रतिक्रिया