
विराटनगर, १५ माघ । उपप्रधान एवं भौतिक निर्माण तथा यातायातमन्त्री विजयकुमार गच्छदारले मधेस आन्दोलनको कुनै औचित्य नभएको बताउनुभएको छ ।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गच्छदारले संविधान संशोधन मार्फत मधेसी जनताका माग पुरा भइसकेकाले मधेसी मोर्चाले अब आन्दोलन गरिरहनुको कुनै औचित्य नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘मधेशी मोर्चाले अब आन्दोलन गरिरहनुपर्ने आबश्यकता छैन् । संबिधान संशोधनबाट सीमांकन बाहेक मोर्चाले उठाएका अन्य राजनीतिक मागहरू सम्बोधन भईसकेको छ । आन्दोलनबाट वाक्क भएका जनताले लखेट्ने अवस्था पनि आउन सक्छ ।’
मधेसका माग पुरा भइसकेकाले आन्दोलनमा अब जनताले साथ नदिने गच्छदारले दाबी गर्नुभयो । उहाँले सीमांकनको माग विस्तृत छलफल गरि उच्चस्तरिय राजीतिक संयन्त्रमार्फत टुंग्याउने तयारी भईरहेको बताउनुभयो ।
संविधान संशोधनले आदिवासी जनजाती, मधेसी, थारु, मुस्लिम लगायतका आन्दोलनरत पक्षले उठाएका राजनीतिक मागलाई अधिकतम सम्बोधन गरेको उहाँको दाबी थियो ।












प्रतिक्रिया