१४ कार्तिक २०८३, शनिबार

दाङ कांग्रेसका सभापति उम्मेदवार को-को ?, शरणार्थी नेता गिरीले किन उम्मेदवारी घोषणा गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बाँके घर भएका शंकर गिरी
बाँके घर भएका शंकर गिरी

दाङ, १३ माघ । नेपाली कांग्रेसको १३औँ महाधिवेशनअन्तर्गत माघ १५ गतेदेखि गाउँ र नगरको अधिवेशन सुरु हुनै लाग्दा दाङमा जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणको लहर चलेको छ ।

जिल्ला सभापतिका लागि युवा नेता कमल किशोर घिमिरे, पूर्व सभापति वीरकेश्वरी गौतम, घनश्याम रेग्मी, गेहेन्द्र गिरी, श्याम रेग्मी, शंकर गिरीलगायतको उम्मेदवारी घोषणा भएको छ । स्रोतका अनुसार उनीहरुले आआफ्नो गुटमा सभापतिमा उम्मेदवारी दिनेभन्दै प्रचार प्रसार पनि सुरु गरेका छन् ।

बुथमा हार्ने डरले अहिलेसम्म औपचारिक रुपमा दुई नेताबाहेक अरुले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

औपचारिक रुपमा सभापति पदका लागि मैदानमा देखिएकामा हालका जिल्ला सचिव तथा युवा नेता कमलकिशोर घिमिरे र बाँकेको नेपालगञ्ज घर भएका शंकर गिरी रहेका छन् । घिमिरे वरिष्ठ नेता शेरबहादुर देउवा र गिरी सुशील कोइराला निकट रहेको स्रोतको भनाइ छ ।

सचिव घिमिरेले आफ्नो उम्मेदवारीका विषयमा दुई महिनाअघि देखिनै प्रचार प्रसार गर्दै आएका छन् । उनले आफू युवा रहेको र गुटउपगुट मिलाएर लैजान सक्ने क्षमता राख्नेभन्दै जिल्ला सभापतिमा उम्मेदवारी दिन लागेको बताउँछन् ।

नेपालगञ्ज र काठमाडौंतिर धेरै बस्ने गिरी महाधिवेशनका बेला दाङमा अड्डा जमाएर बसेका छन् । उनलाई हराउन आफ्नै समूहका नेताहरु लागेको थाहा पाएपछि गिरी चिन्तित बनेको स्रोतको भनाइ छ । गिरीले आजकाल दाङमा अस्थायी बसोबास गर्दै आएका छन् । गिरीलाई दाङमा शरणार्थी नेताको रुपमा चिनिन्छ ।

बाँकेमा टिक्न नसकेपछि गिरीले दाङबाट कांग्रेसको राजनीति गरिरहेको आरोप छ । संस्थापन समूहबाट सभापतिमा उम्मेदवारी दिएमा गिरीले धेरै ठूलो मतअन्तरले पराजय भोग्ने उनकै समूहका एक नेताले बताए ।

सभापतिमा जित हासिल गर्न सक्नेमा पुराना नेता वीरकेश्वरी गौतम पनि छन् । उनलाई संस्थापन र देउवा समूहले पनि रुचाउँछन् ।

कमलकिशोर घिमिरे
कमलकिशोर घिमिरे

गौतमले दाङ कांग्रेसमा लामो योगदान दिएका छन् । तर उनी कहिल्यै पनि लाभको पदमा पुग्न सकेका छैनन् ।

अर्का नेता गेहेन्द्र गिरी खुमबहादुर खड्काका पकेटका व्यक्ति मानिन्छन् । सांसद बनिसकेका गिरी आजकाल जिल्लाको राजनीतिमा फाटफुट लाग्ने गरेका छन् । दाङ कांग्रेसमा उनको खासै राम्रो पकड छैन । उनी राजनीतिभन्दा पनि अरु कामतिर व्यस्त हुने गरेका छन् ।

हालका सभापति तथा खुमबहादर समूहका नेता मानिने घनश्याम रेग्मीले पनि फेरि सभापति बन्ने लोभ देखाउने गरेको आरोप छ ।

रेग्मीले आफू निकटका नेताहरुसँग फेरि सभापतिमा उम्मेदवारी दिइ जित हासिल गर्ने बताउने गरेका छन् ।

सभापतिमा अर्का नेता श्याम रेग्मीको पनि चर्चा हुने गरेको छ । श्यामले आफूले दाङ कांग्रेसमा ठूलो योगदान गरेको भन्दै यस पटक जसरी पनि सभापतिमा जित्ने दाउ पालेर बसेका छन् ।

दाङ कांग्रेसमा दब्दवा राख्ने केन्द्रीय सदस्य खुमबहादुर खड्का, दीपक गिरी, सांसद राजु खनाल, अनिता देवकोटाले पनि आआफ्ना समूहलाई विजयी गराउन जोडतोडले लागेका छन् । उनीहरुसँग सांसद पार्वती डिसी चौधरी, सुशीला चौधरी, डिल्लीबहादुर चौधरीले पनि दाङ कांग्रेसमा आआफ्नो उपस्थिति दह्रो रुपमा देखाएका छन् ।