– विमल योगी
काठमाडौं, १२ माघ । सरकारले मध्य तथा पूर्व तराईका जिल्लाहरूमा आन्दोलनरत विभिन्न भूमिगत समूहहरूसँग वार्ताको तयारी गरेको जनाएको छ । वार्ताका लागि सरकारीस्तरमा वार्ता टोली गठन गर्ने अन्तिम तयारी भएको छ ।
शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालले अब बस्ने मन्त्रिपरिषद बैठकले वार्ता टोली गठन गर्ने बताउनुभयो । ‘मध्य तथा पूर्व तराईका जिल्लाहरूमा अहिले पनि केही भूमिगत समूह छन्’, सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा केही पत्रकारसँग कुरागर्दै उहाँले भन्नुभयो, ‘ती सबैसँग वार्ताको तयारी गरेको छु । सरसल्लाह भइरहेको छ । वार्ता टोली गठन गरेर सम्पर्कसूत्रमार्फत वार्ता हुन्छ ।’
यसअघिका मन्त्रीहरूले पनि भूमिगत समूहसँग वार्ता गरेको जानकारी आफूले पाएको बताउनुभएका शान्तिमन्त्री ढकालले भन्नुभयो, ‘वार्ताका लागि केही प्राविधिक तयारी पनि गर्नुपर्छ । अब बन्ने सरकारी वार्ता टोलीले सबैलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँछ ।’
सरकारले राजनीतिक माग उठाएका सबै समूहसँग वार्ता गर्ने बताउनुभयो । ‘हामी वार्ता गर्न तयार छौँ’, मन्त्री ढकालले भन्नुभयो, ‘राजनीतिक उद्देश्य राखेका सबैलाई मुलधारको राजनीतिमा ल्याउनुपर्छ ।’
मध्य तथा पूर्वी तराईका जिल्लाहरूमा केही भूमिगत समूहले आफ्ना गतिविधि देखाउन थालेका बेला सरकारले ती समूहहरूसँग वार्ताको तयारी गरेको हो ।
त्यसैगरी, शन्तिमन्त्री ढकालले वार्ता र सम्वादका लागि चाहिले मध्यस्थकर्ताको समूहका लागि गृहकार्य भइरहेको पनि बताउनुभयो । ‘वार्ता र सम्वादका लागि मध्यस्थकर्ताको विज्ञहरू पहिचान गरेर सूची बनाउँदा पछिलाई पनि राम्रो हुन्छ’, उहाँले भन्नुभयो, ‘सेवासुविधा आवश्यक परेका बेला काममा लगाइ सोहीअनुसार दिनुपर्ने प्रस्ताव गरेको छु ।’












प्रतिक्रिया