काठमाडौं, १२ माघ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफूले १३औँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले महाधिवेशनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन् ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस नेतृ कोइरालाले भनिन्, ‘सभापति पदमा मेरो उम्मेदवारी सुनिश्चित छ । म ब्याक हुँदिन । म धेरै अगाडि बढिसके ।’ उनले आफूलाई वर्तमान सभापति सुशील कोइरालाको पनि सहयोग रहने बताइन् ।
नेतृ कोइरालाले सभापति कोइरालालाई अर्को कार्यकालका लागि उम्मेदवारी नदिन पनि सुझाव दिइन् । उनले भनिन्, ‘म सक्षम छु । रामचन्द्र र शेरबहादुरजीसँग म प्रतिष्प्रधा गर्न सक्छु ।’
सभापतिमा अरु पनि उम्मेदवार बन्ने आकंक्षा राखेका छन् नि भन्ने जिज्ञासामा उनले भनिन्, ‘उम्मेदवार दिने अधिकार सबैलाई छ । तर मलाई कार्यकर्ताका माया छ । मैले जित्छु ।’
पार्टीभित्रको ६० र ४० को भागबण्ड अन्त्य हुने बताएकी नेतृ कोइरालाले १३औँ महाधिवेशनमा गुटको राजनीति अन्त्य हुने बताइन् ।
कांग्रेसको १३औँ महाधिवेशन फागुनको २० गतेदेखि काठमाडौंमा हुँदैछ । गाउँ र नगर महाधिवेशन माघको १५ गतेदेखि सुरु हुँदैछ ।












प्रतिक्रिया