२३ कार्तिक २०८३, सोमबार

वीरगञ्ज नाकाबाट यसरी आउँन थाले सामान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birganja Nakaवीरगञ्ज, ११ माघ । मधेसी मोर्चाको बहानामा अबरुद्ध वीरगञ्ज भन्सार नाका खुल्ने स्पष्ट संकेत देखिएको छैन । तर नाका अबरोध र नाकाबन्दीका कारण आजित बनेका सर्वसाधारणले पेलेरै भए पनि नाका खोल्न थालेका छन् ।

गत ७ असोजबाट ठप्प रहेको वीरगञ्ज नाकामा सोमबार भने केही खुकुलो देखिएको थियो । पाल टाँगेर मितेरी पुलमा अड्डा जमाएका मधेसी मोर्चाका कार्यकताले आफ्नो पछाडिको भागबाट आवतजावत गर्न दिएका थिए ।

नाका ठप्प पार्नेभन्दै धर्नामा बसेको मधेसी मोर्चाका कार्यकर्ताले नाकाधर्ना नछाडे पनि धर्नास्थल पछाडिबाट सामान ओसारपसार गर्न भने दिएका छन् ।

भारततर्फबाट व्यापारीहरूले ठेला, रिक्सा, टेम्पो र टायर गाडामा ल्याएका सामान वीरगन्जतर्फबाट गएका ठेलागाडी, रिक्सा र टायर गाडामा पल्टी गरेर ल्याउन थालिएको छ ।

पहिला हजारौंको संख्यामा धर्नास्थलमा पुग्ने आन्दोलनकारी र समर्थकको संख्या पनि घटेको र बिस्तारै धर्नास्थल छेउबाटै सामान भित्राउन थालिएको हो ।

धर्नाकारी नेपाल–भारतको दसगजास्थित मितेरी पुलमा टेन्ट टाँगेर बसे पनि पुलको छेउबाट लत्ताकपडा र हार्डवेयरका सामान भटाभट भन्सार भित्रिन थालेको आन्दोलनकारीहरू नै बताउँछन् ।

रातिराति धर्नास्थलमा बसेका धर्नाकारीलाई नेपाल–भारतका कारोबारीले पटकपटक लखेट्दै नेपालतर्फ सामान भित्राउने प्रयास गरे पनि मधेसी गठबन्धन र मोर्चामा आबद्ध दलका नेता कार्यकर्ता नाकाको धर्नास्थलमा जाने क्रम भने अझै जारी छ । सोमबार मध्याह्न पनि धर्नास्थलमा मोर्चामा आबद्ध पार्टीका स्थानीय नेताहरू धर्नास्थलमै थिए ।

बढ्दो चिसो र अनवरत लामो धर्नाले आजित नेता कार्यकर्ताको २४ घन्टे धर्ना एकनासको हुन नसकेको धर्नामा सहभागी नेताहरू पनि स्वीकार गर्छन् ।