२३ कार्तिक २०८३, सोमबार

ओलीले मोदीलाई भने, ‘संविधानको कुरा तपाईंसामु भन्न पाउँदा म हर्षित छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-Oliकाठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी ओलीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै भारतीय जनताको शान्ति, प्रगति र समृद्धि कामना गर्नुभएको छ ।

भारतको ६७ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा त्यहाँका प्रधानमन्त्री मोदीलाई आज बधाई दिँदै शुभकामना दिनुभएको हो ।

दुई मुलुकबीच सदिऔँदेखि रहँदै आएको सौहार्दता, आपसी समझदारी, सद्भाव र सहयोगमा आधारित बहुपक्षीय र गहन सम्बन्धलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले यो सम्बन्ध दुई मुलुकको इतिहास, साझा संस्कृति, मूल्य एवम् मान्यता र बृहत् अन्तक्र्रियाबाट जनस्तरसम्म अझ सुदृढ हुँदैआएको उल्लेख गर्नुभएको छ ।

दुवै मुलुकबीच विभिन्न तहमा भइआएका भ्रमणले बहुआयामिक द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिनाका साथै नयाँ उचाइ समेत प्रदान गरेको प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले सदियौँ पुरानो सम्बन्ध आगामी दिनमा थप समृद्ध बन्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

नेपालले आफ्नो आर्थिक–सामाजिक रुपान्तरणका लागि थालेका प्रयासमा भारतले गर्दै आएको साझेदारी र उदार सहयोगको सराहना गर्दै प्रधानमन्त्री ओलीले आपसी हितका नयाँ क्षेत्र पहिल्याउने कामले यस्तो साझेदारी अझ मजबुुत हुने विश्वास प्रकट गर्नुभएको छ ।

नेपालमा गत वैशाखमा गएको भूकम्पका समयमा भारत सरकार र जनताका तर्फबाट उपलब्ध गराइएको उल्लेख्य सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार पनि व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ, ‘भूकम्पपछिको पुनःनिर्माणमा उल्लेख्य सहयोग प्रदान गर्ने भारतीय प्रतिबद्धताको हामी उच्च मूल्याङ्कन गर्छौंं ।’

सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘संविधानसभाबाट हालै नयाँ लोकतान्त्रिक र समावेशी संविधान जारी भएर लोकतान्त्रिक तवरले निर्वाचित संविधानसभा मार्फत संविधान लेख्ने नेपाली जनताको धेरै समयअघिदेखिको चाहनाले मूर्त रुप लिएको सन्देश तपाईंसामु भन्न पाउँदा म हर्षित छु । केही दिन अघि मात्रै जनताको जायज मागलाई संविधान संशोधन मार्फत सम्बोधन गरिएको छ ।’

आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेर नेपाली जनता संविधान कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको सन्दर्भमा भारतबाट विगतमा झैँ सद्भाव र सहयोगलाई निरन्तरता दिइने विश्वास पनि उहाँले प्रकट गर्नुभएको छ ।