काठमाडौं, १० माघ । संविधान संशोधनका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुनः असन्तुष्टि जनाएपछि समस्या समाधनप्रति अझै कुनै ठोस निकास आउने देखिएको छैन ।
मधेसी मोर्चाले संविधान संशोधनले आफ्नो माग सम्बोधन नगरेको भन्दै आन्दोलन जारी राख्ने जनाएको छ । उसले आन्दोलनलाई थप उचाइँमा पुगाएर राज्यलाई झकाउनेभन्दा अर्को विकल्प नरहेको प्रतिक्रिया दिएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका महासचिव एवम् संसदीय दलका नेता शर्वेन्द्रनाथ शुक्लाले मधेसी मोर्चाले उठाएका कुनै पनि मागलाई संविधान संशोधनले नछोएको बताउनुभयो । ‘संविधान संशोधनको पहिलो संशोधनले पनि हाम्रा माग सम्बोधन भएका छैनन्’, नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै शुक्लाले भन्नुभयो, ‘निर्वाचन क्षेत्र निर्धारण र समावेशी प्रतिनिधित्वका विषयमा कुनै पनि कुरा छोएको छैन ।’
जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने व्यवस्थासहितको संशोधन भएपछि मधेसी मोर्चाले चित्त दुःखाएको छ । मधेसी मोर्चाले जनसंख्यालाई मात्रै आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग गर्दै आएको छ ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनले पनि आफूहरुको मागलाई संविधान संशोधनले कुनै सम्बोधन नगरेको बताउनुभयो ।
‘आन्दोलन जारी छ’, उहाँले भन्नुभयो, ‘मधेसी मोर्चाको बैठक छिट्टै बसेर यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने छौँ ।’
महासचिव सुमनले राज्यविरुद्ध गरिएको असहयोग आन्दोलन यथावत रहेको बताउनुभयो । उहाँले बरु आन्दोलनलाई कडा बनाउन आआफ्नो तरिकाले पार्टीगत कार्यक्रम पनि दिने बताउनुभयो ।












प्रतिक्रिया