काठमाडौं । गायक राजन ठकुरी नेपाली लोकसंगीतमा नौलो नाम होइन । उनीले गीतसंगीतको क्षेत्रमा आफ्नो उपस्थिति अहिले बाक्लै रुपमा देखाउन थालेका छन् । उनका एकपछि अर्को गीतहरु बजारमा आउने क्रममा छन् ।
लोकदोहोरी गीतमा रम्न रुचाउने गायक उनै ठकुरीले फेरि अर्को गीत बजारमा ल्याएका छन् । ठकुरीले आफ्नै स्वर, शब्द र लयमा पञ्चेबाजाको लोकदोहोरी एल्वम सार्वजनिक गरेका हुन् । ‘के लैजानु छ र मरेर…..’ बोलको गीत रहेको ठकुरीलाई गायिका पूर्णकला विसीले साथ दिएकी छिन् ।
अघिल्लो पटक देशभक्तिको गीति एल्वम ‘गर्व’ र पछिल्लो समय ‘बाटो मोड्ने छैन’ लोकदोहोरी गीत सार्वजनिक गरेका गायक ठकुरीले पञ्चेबाजामा आधारित गीत निर्माण गरी सार्वजनिक गरेका हुन् ।
गीतको भिडियोसमेत बनाएका गायक ठकुरीले आफ्नै एकाउन्टमार्फत सामाजिक सञ्जाल यूट्युबमा ‘पञ्चेबाजा’लाई अपलोड गरेका छन् । बिहीबार मात्रै यूट्युबमा अपलोड गरिएको ‘पञ्चेबाजा’को भिजिटर राम्रो रहेको गायक ठकुरीले बताए ।
पञ्चेबाजामा आधारित गीतहरु चल्न छाडेका बेला किन यस्तो लोकदोहोरी ल्याउनु भयो भन्ने जिज्ञासामा गायक ठकुरीले भने, ‘नेपाली संस्कृतिको अभिन्न अंगमध्ये पञ्चेबाजा पनि पर्छ । व्यवसायिकभन्दा पनि सांस्कृतिक महत्व भएकोले यो गीत निर्माण गरिएको हो ।’
गीतमा गायक ठकुरीले परम्परागत बाजाहरु प्रयोग गरेका छन् । गीतको शूटिङ् पनि वैवाहिक कार्यक्रम जस्तै गरी निर्माण गरिएको छ । गीतमा सज्जन हमाल र विनु खड्काको मुख्य अभिनय छ ।
लगनको समय रहेका बेला सार्वजनिक गरिएको ‘पञ्चेबाजा’ गीतबाट राम्रो प्रतिक्रिया पाउने गायक ठकुरीको विश्वास छ ।
(राजन ठकुरीको नयाँ ‘पञ्चेबाजा ‘ लोकदोहोरीको भिडियो)















प्रतिक्रिया