
काठमाडौं, ८ माघ । तराईमा आन्दोलनरत मधेसी मोर्चाले विहीबार मोरङको रंगेलीमा तीन जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनापछि गठन गरिएको छानविन समितिलाई रंगेलीमा पाइला टेक्न नदिने चेतावनी दिएको छ ।
घटनाको छानविनका लागि शुक्रबार विहान मात्रै सर्वदलीय बैठकले एमाओवादीका सांसद शिवकुमार मण्डलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
उक्त समिति गठनबारे प्रतिक्रिया जनाउँदै शुक्रबार मोर्चाका नेताहरुले आफ्नो सहमतिमा विना सरकारमा रहेका दललाई राखेर बनाइएको समिति नमान्ने जनाएका हुन् ।
मधेसी मोर्चाको मोरङ संयोजक राजकुमार यादवले सरकारमा रहेका दलको समितिले निश्पक्ष छानविन गर्न नसक्ने भन्दै न्यायिक समितिमार्फत् छानविनको माग गरे ।
अहिलेको छानविन समितिलाई घटनास्थल रंगेली र डायनिया क्षेत्रमा प्रवेश गर्न नदिने उनको चेतावनी छ ।












प्रतिक्रिया