काठमाडौं, ८ माघ । संविधान संशोधनमा प्रमुख दलहरूसंग आफूले गरेको भद्र सहमति उल्लंघन भएको मधेसी मोर्चाले आरोप लगाएको छ ।
संविधान संशोधनको विषयमा जनसंख्यालाई आधार बनाएर पूरक संशोधन लैजाने विषयमा एमाले र एमाओवादीले धोका दिएको मधेसी मोर्चाको आरोप छ ।
मधेसी मोर्चा र कांग्रेस, एमाले र एमाओवादीबीच जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धाण गर्ने तथा राज्यका निकायमा समावेशी प्रतिनिधित्वको विषयमा सहमति भएको थियो । तर मधेसी मोर्चाले निर्वाचन क्षेत्र बनाउँदा जनसंख्यालाई मात्रै आधार बनाएर जाने प्रस्ताव जोडदार रुपमा राखेपछि एमाले र एमाओवादीले विरोध गर्दै आएका छन् ।
कांग्रेसले जनसंख्यालाई आधार बनाएर निर्वाचन क्षेत्र बनाउन सकिने विषयमा लचिलो हुँदै आएको छ । सोही अनुसार कांग्रेसका सांसद विमलेन्द्र निधीले पुरक संशोधन प्रस्ताव नै सदनमा दर्ता गराएका छन् ।
बालुवाटारमा बसेको प्रमख चार राजनीतिक शक्ति र अन्य केही साना दलहरूको बैठकमा प्रधानमन्त्री केपी ओलीले जनसंख्यालाई मात्रै आधार बनाएर निर्वाचन क्षेत्र बनाउने पुरक प्रस्तावका विषयमा आफूलाई केही जानकारी नरहेको बताएका थिए ।
ओलीको सो भनाइ आउनेवित्तिक कांग्रेस सभापति सुशील कोइरालाले विरोध गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष यादवले प्रधामन्त्री ओलीले संविधान संशोधनमा परेका पूरक प्रस्तावहरूका बारेमा आफूलाई कुनै जानकारी नरहेको जनाएको बताए । ‘प्रधानमन्त्रीले संविधान संशोधनमा परेका पूरक प्रस्तावहरूका विषयमा कांग्रेस वा अन्य दलहरूसँग कुनै छलफल भएको छैन र कांग्रेससँग सहमति पनि भएको छैन’, ओलीको भनाइ उदृत गर्दै अध्यक्ष यादवले भने, ‘त्यसपछि कांग्रेस सभापति सुशील कोइरालाले विरोध गरे । बैठकमा भनाभन भयो ।’
उता, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पनि निर्वाचन क्षेत्रका विषयमा भएको भद्र सहमतिलाई एमालेले उल्लंघन गरेको आरोप लगाएका छन् ।
योसँगै अब प्रमुख दलहरूका बीच सहमतिमा संविधान संशोधन हुने विषय टाढिएर गएको छ । भोलि शनिबार संविधान संशोधनको प्रस्तावमा निर्णय हुने कार्यसूची छ । तर पुरक संशोधन भने पारित नहुने अहिलेसम्मको तयारीले देखाएको छ ।












प्रतिक्रिया