
काठमाडौं, ७ माघ । मोरङको रंगेलीमा तीन जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भर्त्सना गरेको छ ।
मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विहीबार साँझ एक विज्ञप्ति जारी गरी मोर्चाको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि भएको दमनकारी घटनाको विरोध एवं भर्त्सना गरेका हुन् ।
उनले आन्दोलनमा दमन गरेर सरकारले मुडभेड निम्त्याएको आरोप लगाएका छन् ।
‘मोर्चाको विरोधका बावजूद संवेदनशील स्थानमा कार्यक्रम आयोजना गरी सरकारले जारी आन्दोलनलाई साम्प्रदायिक मुठभेड तर्फ लैजाने, आन्दोलनलाई कमजोर बनाउने र पाँच महिना बढीदेखि आन्दोलनरत मधेशी, आदिवासी जनजाति, खस, थारु, महिला लगायत सीमान्कृत र उत्पीडित समुदायलाई पहिचान र अधिकार नदिने षड्यन्त्रमा लागेको रङ्गेली घटनाले प्रष्ट हुन्छ,’ यादवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ प्रेस विज्ञप्तिः
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच वार्ता प्रक्रिया चलिरहेकै अवस्थामा मोरङ्गको रङ्गेलीमा प्रहरीको गोली प्रहारबाट तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं आन्दोलनकारी घाइते भएका छन् । प्रहरीको गोली लागि ६० वर्षिय पुनम चौधरीको घटनास्थलमै मृत्यु भएको छ । उपचारका लागि अस्पताल लैजाने क्रममा महादेव ऋिषिदेव, र शिबु माझीको मृत्यु भएको छ । त्यस्तै, प्रहरीले गोली लागि मुन्ना मण्डल, विरेन्द्र मण्डल, सत्य नारायण साह, रमानन्द यादव, लल्लन मेहता, विक्रम सहनी, जगन्नाथ साह, श्रवण मण्डल र सुबोध मण्डल लगायत ३५ जना भन्दा बढी आन्दोलनकारी गम्भीर घाइते भएका छन् । यसरी मोर्चाको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि भएको दमनकारी घटनाको फोरम नेपाल घोर विरोध एवं भत्र्सना गर्दछ । मोर्चाको विरोधका बावजूद संवेदनशील स्थानमा कार्यक्रम आयोजना गरी सरकारले जारी आन्दोलनलाई साम्प्रदायिक मुठभेड तर्फ लैजाने, आन्दोलनलाई कमजोर बनाउने र पाँच महिना बढीदेखि आन्दोलनरत मधेशी, आदिवासी जनजाति, खस, थारु, महिला लगायत सीमान्कृत र उत्पीडित समुदायलाई पहिचान र अधिकार नदिने षड्यन्त्रमा लागेको रङ्गेली घटनाले प्रष्ट हुन्छ । वार्ता र संवाद मार्फत् नयाँ संविधन संशोधन गरी मुलुकलाई निकास दिनुको सट्टा आन्दोलनकारी माथि चरम दमन गरी सरकार आफै वार्ता बिथोल्न लागि परेको गम्भीर आशंका उत्पन्न भएको छ । सरकारले एकातिर वार्ता गर्ने अनि अर्कोतिर जनता भिडाउने र आन्दोलनकारी माथि दमन गर्ने निकृष्ट कार्य तत्काल बन्द गरी सार्थक वार्ता मार्फत् देशलाई निकास दिने तर्फ गम्भीर हुन आह्वान गर्दछौं ।
………………
उपेन्द्र यादव
अध्यक्ष












प्रतिक्रिया