
पेसावर (पाकिस्तान), ६ माघ । उत्तरपश्चिमी पाकिस्तानी सहर पेसावरको एक विश्वविद्यालयमा बुधबार भएको बन्दुकधारीहरुको हमलामा मारिनेको सङ्ख्या २१ पुगेको छ ।
पेसावर नगरबाट ५० किलोमिटर पर रहेको चारसद्दा जिल्लाको बचाखान विश्वविद्यालयमा सो हमला भएको थियो ।
हमलाका दर्जनौँ विद्यार्थी घाइते भएका उक्त विश्वविद्यालयका उपकुलपति फजाल रहिम मारवातले जानकारी दिनुभएको छ ।
सो जिल्लाका प्रहरी प्रमुख सइद वाज्रीले उक्त हमलामा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार अपराह्नसम्ममा २१ पुगेको जानकारी दिनुभएको हो ।
विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएपछि त्यहाँ सैनिक, प्रहरी र अन्य अर्धसैन्य बलले स्थल र हवाई कारबाही थालेका हुन् ।
मारिनेमा प्राध्यापक र विद्यार्थी धेरै परेका छन् । छात्रबासमा रहेका छात्रछात्रा बढी मारिएका बताइएको छ ।
हाल सो क्षेत्रमा भिडन्त रोकिइसकेको छ । सो भिडन्तपछि मारिनेको सङ्ख्या २१ पुगेको जनाइएको हो ।
मारिनेमा चारजना आत्मघाती हमलाकारी पनि परेका छन् । प्रहरीले तिनै चारजनाले सो हमला गरेको जनाएको छ । उनीहरुलाई चारैतिरबाट घेराहाली कारबाही गरिएको र कारबाहीका क्रममा उनीहरु मारिएका जनाइएको छ ।
तर यस समाचारको पुष्टि हुन भने बाँकी रहेको बताइएको छ । केही स्थानीय सञ्चारमाध्यमहरुले मारिनेमा आत्मघाती हमलाकारी भए नभएको बारेमा प्रहरीले स्पष्ट समाचार दिन नसकेको बताएका छन् ।
सो हमलामा परी यसअघि तीनजना विद्यार्थी मात्र घाइते भएका बताइएको भए पनि पछिल्लो समाचारमा यो सङ्ख्या २१ पुगेको जनाइएको हो ।
बन्दुकधारीले बुधबार बिहान अकस्मात विश्वविद्यालय क्याम्पसमा बन्दुक हमला गरी अकस्मात भागाभाग गराएका थिए ।
विश्वविद्यालय क्याम्पसको दक्षिणी क्षेत्रबाट बन्दुकधारीहरु प्रवेश गरेका थिए । उनीहरु प्रवेश गरेपछि नै बन्दुक हमला थालेका थिए ।
सो क्याम्पसमा छात्राहरु पनि अध्ययनरत् छन् । तर उक्त विश्वविद्यालयमा आक्रमणका लागि यसअघि कुनै पनि समूहले धम्की नदिएको अधिकारीहरुले जनाएका छन् ।
आक्रमणको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ । सो आक्रमणबाट विद्यार्थीहरुमा बिहानैदेखि कोलाहल मच्चिएको पेसावरबाट प्राप्त समाचारमा जनाइएको छ ।
प्राप्त एक समाचारअनुसार सो विश्वविद्यालयमा कम्तीमा पनि तीन हजार विद्यार्थी अध्ययनरत् रहेको अनुमान गरिएको छ ।
पेसावरमा यस्ता आक्रमण विगतदेखि हुँदै आएको छ । पेसावरका विद्यालय एवम् विश्वविद्यालयमा यसरी विद्यालयमा हमला हुने गरेको छ ।
गत वर्ष पनि पेसावरकै एक विद्यालयमा भएको हमलामा परी १३४ जना बालबालिकासहित कम्तीमा पनि १५० जनाको ज्यान गएको थियो ।
यसैबीच सो आक्रमणको जिम्मेवारी तालिवानले लिएको छ । तालिवानका प्रवक्ताले अज्ञातस्थलबाट फोनगरी एएफपीका समाचारदातालाई सो जानकरी गराएका हुन् ।
उनले आफ्ना चारजना आत्मघाती लडाकूले सो क्याम्पसमा आक्रमण गरेको जानकारी गराएको समाचारमा उल्लेख गरिएको छ । रासस/एएफपी















प्रतिक्रिया