१ कार्तिक २०८३, शनिबार

विवादका बीच चिनियाँ राष्ट्रपतिद्वारा जिसीसीसँग व्यापारिक छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi Jinping

रियाद, ६ माघ । चिनियाँ राष्ट्रपति सी जिनपिङले गल्फ राष्ट्र सहयोग परिषद (जिसीसी) का महासचिवसँग मङ्गलबार भेटवार्ता गरी व्यापारिक विषयमा छलफल गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले जिसीसीका महासचिव अब्दुल लातिफ बिन जियानीसँग व्यापार र नवीकरणीय उर्जाको क्षेत्रमा अरेबियाली मुलुक र चीनले गर्नसक्ने द्विपक्षीय समन्वयाका बारेमा कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति जिनपिङ आफ्नो पाँच दिन लामो मध्यपूर्वी तीनवटा राष्ट्र साउदी अरब, इरान र इजिप्टको भ्रमणका क्रममा मङ्गलबार साउदी अरब आइपुग्नुभएको हो ।

उहाँले मङ्गलबारदेखि नै द्विपक्षीय हितका बारेमा वार्ता थाल्नुभएको समाचारमा जनाइएको छ । चिनियाँ अधिकारीहरुले बुधबार पनि राष्ट्रपति जिनपिङ भेटवार्तामा व्यस्त हुने जनाएका छन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र राष्ट्र चीनले विश्वका अन्य मुलुकसँगको कूटनीतिक सम्बन्ध थप मजबुत पार्ने उद्देश्यका साथ उहाँको भ्रमण तय भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले विशेषगरी दुरसञ्चार, पूर्वाधारमा आर्थिक लगानी, हवाई उड्डयन, आणविक उर्जा, नवीकरणीय उर्जाका क्षेत्रमा अरब राष्ट्रहरुसँग सहयोग र समन्वयका क्षेत्रमा वार्तागर्ने जानकारी पनि चिनियाँ विदेश मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।

उहाँको यस भ्रमणका क्रममा स्वतन्त्र व्यापार क्षेत्रका साथै अरब राष्ट्रहरु र चीनको आपसी व्यापारिक साझेदारिताका क्षेत्रमा पनि द्विपीक्षय वार्ता हुने जानकारी दिइएको छ ।

साउदी अरबमा सिया धर्मगुरुलाई हालै दिइएको फाँसीको सजायपछि सिया यसको प्रतिक्रियास्वरूप सिया धर्मावलम्बीले तेहरानस्थित साउदी अरबको राजदूतावासमा आक्रमण गरेका थिए ।

यसबाट साउदी अरब र तेहरानबीचको सम्बन्धमा समस्या उत्पन्न भएको वेला राष्ट्रपति सीको मध्यपूर्वको भ्रमण सुरु भएको छ । कतिपय विश्लेषकहरुले यसलाई निकै नै महत्वका साथ हेरिरहेका पनि जनाइएको छ ।

चीन र मध्यपूर्वी राष्ट्रहरुबीचमा व्यापारिक सम्बन्ध पनि रही आएको छ । चीनमा मध्यपूर्वी मुलुकबाट खासगरी तेल आपूर्ति हुने गरेकोले बेइजिङ इन्धनका लागि मध्यपूर्वमा आश्रित रहँदै आएको छ ।

सीको मध्यपूर्वको भ्रमण र छलफल यस क्षेत्रको राजनीतिक सङ्कट समाधान गर्न पनि महत्वपूर्ण रहने विश्वास लिइएको छ । पछिल्लो समयमा मध्यपूर्वमा राजनीतिक सङ्कट गहिरिन थालेको भान भएको छ ।

साउदी अरब र इरानबीच विकसित पछिल्लो सम्बन्धलाई शान्त एवम् संयमित रूपमा हल गर्नुपर्ने धारणा चिनियाँ अधिकारीहरुले राख्दै आएका छन् । रासस/एएफपी