
काठमाडौं, ६ माघ । प्रमुख दलहरुले संसदमा रहेको संविधान संशोधन सम्बन्धी विधेयकलाई परिमार्जन गर्ने गरी मधेसी मोर्चासँग छलफल गरेर सहमति खोज्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रधानमन्त्री केपी ओलीसहित कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकले मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउन सम्वाद गर्ने निर्णय गरेका हुन् । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसी मोर्चासँग भोलि बिहीबार वार्ता गरेर सहमति खोज्ने बताउनुभयो ।
‘संसदमा दर्ता भएको संशोधन प्रस्तावमा परेको पुरक संशोधनमध्ये सबैभन्दा राम्रो प्रस्तावमा छलफल गरेर पारित गर्ने विषयमा हामी प्रमुख तीन दल सहमत भएका छौँं’, उहाँले भन्नुभयो, ‘भोलि बिहीबार मधेसी मोर्चासँग बसेर संशोधनका विषयमा थप छलफल गर्ने छौँ ।’
प्रमुख तीन दलहरुले भोलि बिहीबार बिहान नौँ बजे मधेसी मोर्चासँग बालुवाटारमा वार्ता गर्ने निर्णय गरेका छन् ।
कार्यदलस्तरीय वार्ता मधेसी मोर्चाले बहिष्कार गरेपछि प्रमुख तीन दलले शीर्ष तहमा बिहीबार वार्ता गर्न लागेका हुन् । मधेसी मोर्चासँगको दुरी बढेपछि त्यसलाई सुधार गर्न प्रमुख तीन दल लागिपरेका छन् ।












प्रतिक्रिया