३० आश्विन २०८३, शुक्रबार

विश्वकप खेल्न नेपाली युवा क्रिकेट टोली बङ्गलादेश प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u-19

काठमाडौँ, ६ माघ । बङ्गलादेशमा हुने १९ वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगितामा भाग लिन आज राष्ट्रिय युवा क्रिकेट टोली बङ्गलादेश प्रस्थान गर्‍यो ।

आज बिहान जेट एअरवेजको उडानबाट दिल्ली हुँदै टोली बङ्गलादेश पुग्ने नेपाल क्रिकेट सङ्घ (क्यान)का प्रमुख कार्यकारी अघिकृत भावना घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिता यही माघ ८ गतेदेखि सञ्चालन हुनेछ ।

यु–१९ विश्वकपमा नेपालको यो सातौँ सहभागिता हो । यसअघि सन् २००० मा पहिलोपटक भाग लिएको नेपालसँग सन् २०१० र २०१४ बाहेक सबै विश्वकप खेलिसकेको अनुभव छ । अहिलेसम्म नेपालले विश्वकपको समूह चरण भने पार गर्न सकेको छैन ।

विश्वकपमा टेस्ट मान्यता प्राप्त नौ राष्ट्रसहित विभिन्न १६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ जसमा नेपाल समूह ‘डी’मा परेको छ । त्यस्तै समूह ‘डी’मा भारत, न्युजिल्यान्ड र आयरल्यान्ड छन् । नेपालले समूह चरण पार गर्न दुई राष्ट्रलाई पराजित गर्नुपर्ने हुन्छ ।

नेपालले सन् २००६ मा भएको यु–१९ विश्वकपको प्लेट च्याम्पियनसिपको फाइनल खेलमा भने न्युजिल्यान्डलाई पराजित गरेको इतिहास छ । तर अहिलेसम्मको विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको कुनै पनि उमेर समूहको खेलमा नेपालले भारतलाई भने पराजित गर्न सकेको छैन ।

त्यस्तै, छनोट प्रतियोगिताको फाइनल खेलमा नेपाल आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै विश्वपकका लागि छनोट भएको हो । चौध सदस्यीय नेपाली युवा क्रिकेट टोलीमा कप्तान रिजाल, उपकप्तान आरिफ शेख, सुनिल धमला, सन्दीप सुनार, शङ्कर राना, योगेन्द्रसिंह कार्की, दीपेन्द्रसिंह ऐरी, राजवीर सिंह, प्रेम तामाङ, इशान पाण्डे, दीपेश श्रेष्ठ, सन्दीप लामिछाने, सुशील कँडेल, हिमांशु दत्त र कुशल भुर्तेल छन् ।

त्यस्तै, मुख्य प्रशिक्षकमा जगत टमाटा, बलिङ प्रशिक्षकमा विनोद दास, व्यवस्थापकमा सुदीप शर्मा, प्राविधिक विश्लेषकमा रमण सिवाकोटी तथा चिकित्सकमा दिनेश भट्ट छन् । विश्वकपको तयारीका लागि भारतको नयाँ दिल्लीमा नेपालले अफगानिस्तानसँग दुईवटा अभ्यास खेल खेलेको थियो । दुई अभ्यास खेलमा नेपाल पराजित भएपनि यसले विश्वकपका लागि धेरै अनुभव बटुल्न पाएकोे मुख्य प्रशिक्षक टमाटाको भनाइ छ ।

नेपाली टोलीले भारतको हिमाञ्चल प्रदेशमा पनि अभ्यास खेल खेलेको थियो । नेपालले विश्वकपको पहिलो खेल यही माघ १४ गते न्युजिल्यान्डको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी दोस्रो खेल १६ गते आयरल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा १८ गते भारतसँग हुनेछ । रासस