काठमाडौं, ६ माघ । नागरिक समाजमा अगुवा डा सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी ओलीले चुट्किला र हाँसोठट्टा गरेर मुलुक चलाएको आरोप लगाउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै डा.दीक्षितले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओलीको चुट्किला र हाँसोठट्टाले मुलुक चल्दैन । काम गर्नुपर्छ । यसरी हिँडेर जनताले दुःख पाउँछन् । अहिले मुलुकमा हाँसोको खेल भएको छ ।’
मुलुक अहिले अस्तव्यस्त अवस्थामा पुगेको बताउनुभएका नागरिक समाजका अगुवा डा. दीक्षितले भूकम्पपीडितले राम्रोसँग राहत नपाएको आरोप लगाउनुभयो ।
उहाँले राष्ट्रिपति, प्रधानमन्त्री र नेताहरूलाई मिडिया मोहका कारण रानीपोखरीमा राष्ट्रपतिले पुनःनिर्माणको उद्घाटन गरेर जनतामा निराशा थपेको बताउनुभयो ।
उहाँले पुनःनिर्माणको उद्घाटन बारपाक र लाप्राकमा गएर गर्नुपर्ने उल्लेख गर्नुभयो ।
इन्धन राख्ने ठाउँ नभएको समाचार आइरहेको बताउनुभएका डा. दीक्षितले भन्नुभयो, ‘तेल पाइँदैन । तर सडकमा ट्राफिक जाम हुन्छ । कालोबजारी मौलाएको छ । बढी पैसा तिर्ने हो भने जति पनि इन्धन पाइन्छ । यसलाई रोकेको खोइ ?’












प्रतिक्रिया