२३ कार्तिक २०८३, सोमबार

मधेशी मोर्चाका नेताहरूको द्वैध चरित्र, आफ्ना शहिद भन्दा भारतीय नेता प्यारा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha (1)

काठमाडौं, ५ माघ । मधेशमा हुँदा ठूला–ठूला क्रान्तिकारी भाषण गर्ने मधेसी मोर्चाका नेताहरूको द्वैध चरित्र सार्वजनिक भएको छ ।

मोर्चाका एक प्रमुख घटक संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिराटनगरमा हुँदा सिंहदरबार घेर्ने, संविधान पुनर्लेखन गर्ने मांग गर्दै चर्को भाषण दिएका थिए । तर, आज आफैले प्रस्ताव गरेको आफैले तय गरेको र आफैले आउने भनेर प्रचार गरेको कार्यक्रम छोडेर सुटुक्क काठमाडौं छिरेपछि उनका पार्टीका कार्यकर्ता जिल्ल परेका थिए ।

सिरहाको लहानमा आयोजित बलिदानी दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रम छोडेर भारतका एक जना नेतासंग भेंटलाई प्राथमिकता दिएपछि सिरहाका मोर्चा नेताहरू असन्तुष्ट बनेका छन् ।

Morcha (2)केही दिन पहिले काठमाडौं स्थित तमलोपाको केन्द्रीय कार्यालयमा भएको मधेशी मोर्चाको बैठकमा माघ ५ गतेलाई बलिदानी दिवसको रूपमा मनाउने प्रस्ताव फोरमका अध्यक्ष उपेन्द्र यादवले नै गरेका थिए । मोर्चाको बैठकमा जहिले पनि हावी रहने र आफैले ल्याएको कार्यक्रमलाई मोर्चाको बैठकबाट पारित गराउने उपेन्द्र यादवले यसपटक पनि तमलोपा उपाध्यक्ष बृशेष चन्द लालद्वारा प्रस्ताव गरिएको कार्यक्रमलाई कुनै महत्व नदिई त्यसलाई नकार्दै आफैले ल्याएको कार्यक्रमलाई बैठकमार्फत पारित गराएका थिए । यो प्रस्तावसंगै उपेन्द्र यादवले सबै जिल्लामा माघ ५ गते बलिदानी दिवसको अवसर पारि कार्यक्रम गर्ने र सिरहाको लहानमा विशेष कार्यक्रम गर्ने प्रस्ताव गरेका थिए । यतिमात्र नभई उपेन्द्र यादवले मोर्चाको बैठकमा आफै लहानको कार्यक्रममा सहभागी हुने प्रस्ताव पनि गरेका थिए ।

लहानमा मधेशी मोर्चाले आयोजना गरेको कार्यक्रममा उपेन्द्र यादव लगायत मोर्चाका अन्य शीर्ष नेताहरू सम्मिलित हुने प्रचार गरेका थिए । यसै कार्यक्रममा सहभागी हुन तीन दिन पहिलेनै उपेन्द्र यादव बिराटनगर पनि आई पुगेका थिए । उनले मोरंगको बिराटनगर, सुनसरीको इटहरी, सप्तरीको रूपनीमा आफ्नो पार्टी प्रवेशको कार्यक्रम गरे । यता सिरहाको लहानमा उनका पार्टीका नेता र मोर्चाका स्थानीय नेताहरू उपेन्द्र यादव सहित मोर्चाका अन्य शीर्ष नेताहरू आउन लागेकोले सम्पूर्ण शक्ति लगाएर कार्यक्रम सफल बनाउन लागि परेका थिए ।

माघ ५ गते कार्यक्रम शुरू हुँदा सम्म आयोजकले मोर्चाका तीन शीर्ष नेता लहान पुग्ने घोषणा मंचबाट गर्दै थिए । त्यही बीच पहिले महेन्द्र यादव भारतको सोनबरसामा आयोजित कार्यक्रममा देखा परे। मधेश आन्दोलनको समर्थनमा भारतका सांसद पप्पु यादव संगै महेन्द्र यादव मंचमा बसेको फोटो सामाजिक संजालमा देखा परे पछि आयोजकहरूले उनको नामको उद्घोष गर्न छोडेका थिए । कार्यक्रम आयोजना भई रहंदा कम्तिमा पनि आयोजकहरूले पचासौं पटक उपेन्द्र यादव आउने घोषणा गरि रहँदा उपेन्द्र यादव काठमाडौं पुगेको खबर आउँदा आयोजकहरू अप्ठ्यारोमा परेका थिए ।

आफैले तय गरेको कार्यक्रममा सहभागी हुनु भन्दा अचानक जानकारीनै नदिई काठमाडौं पुगेका उपेन्द्र यादवले त्यहां एक जना भारतीय नेतासंग भेंट गर्दै गरेको फोटो सार्वजनिक गरेका थिए । आफ्नै नेतृत्वमा भएको प्रथम मधेश आन्दोलनका पहिलो शहीद रमेश महतोको स्मृतिमा बलिदानी दिवस मनाइने गरेको र त्यही कार्यक्रममा स्वयम् उपेन्द्र यादवनै अनुपस्थित भई दिए पछि कार्यक्रम आयोजक र उनकै पार्टीका नेता कार्यकर्ताले तीव्र असंतुष्टि जनाएका छन् ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजलाल यादवले आफ्ना पार्टीका अध्यक्ष कार्यक्रममा उपस्थित नभए पछि असंतुष्टि व्यक्त गर्दै आलोचना समेत गरेका थिए । राजलाल यादवले पार्टी अध्यक्ष नआउने जानकारी अन्त समय सम्म पनि आफूलाई नभएको जानकारी गराएका थिए ।