तौलिहवा, ५ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मधेस नेपालमै छ भन्ने कुरा काठमाडौंमा बस्नेहरूले नबुझेको आरोप लगाउनुभएको छ ।
‘मधेसीहरू नेपाली नै हुन्, जति प्रदेशहरू बन्छ ती नेपालभित्रै बन्छ र मधेसी नागरिकहरूमा हिमाल पहाडका जनताहरूमा जत्तिकै राष्ट्रियता तराई मधेसका जनतामा पनि छ भन्ने कुरा काठमाडौंले बुझेन’, कपिलवस्तुको तौलिहवामा आज कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘यही कारण मुलुक समस्याको भूमरीमा फसेको छ ।’
काठमाडौंमा उग्रराष्ट्रवाद र मधेसमा उग्रमधेसवादको नारा लाग्न थालेकाले तराई मधेसको समस्या समाधानमा प्रमुख राजनीतिक दलहरूले तत्कालै संबेदनशील हुनुपर्ने डा. कोइरालाको भनाइ छ । अन्यथा मधेस बिखण्डनकारीको हातमा जाने खतरा रहेको उहाँले औंल्याउनूभयो ।
कांग्रेस नेता डा कोइरालाले तराई मधेसको समस्या समाधान कांग्रेसबाटै हुने उल्लेख गर्नुभयो । ‘कांग्रेस सधै तराई मधेसका जनतासँगै छ’, उहाँले भन्नुभयो, ‘कार्यकर्ताहरूको मूल्यांकन भएको छैन, कांग्रेसका नेताहरू राजमार्गसम्म मात्रै आउँने र कोही आएपनि कोठामा आफू निकटका कार्यकर्ता भेटेर जाने गरेका छन् । यसरी कार्यकर्ताको संरक्षण हुँदैन ।’
पार्टीका केन्द्रीय नेताहरू मधेस नआएको बताउनुभएका उहाँले तराई मधेसको सवालमा सबै कांग्रेसका नेताहरूले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले तराई मधेसलाई सौतेनी व्यवहार गर्न नहुनेसमेत बताउनुभयो ।












प्रतिक्रिया