काठमाडौं, ५ माघ । सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले शीर्ष नेताहरूको तहमा वार्ता गर्नुपर्ने भन्दै कार्यदलस्तरीय छलफल आवश्यक नरहेको बताउनुभयो ।
संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारद्वारा पठाइएको प्रतिनिधिसँग वार्ता गर्दा सरकारी पक्षले राम्रो प्रतिक्रिया नदिएको भन्दै सोमबार बेलुकासम्म आइपुग्दा कुनै प्रगति हुन नसकेको बताउनुभयो ।
उहाँले कार्यदलस्तरमा भएका वार्ताले सहमति हुन नदेखेपछि अब त्यसमा छलफल नगर्ने उल्लेख गर्नुभयो ।
बैठकमा विशेष समय लिएर बोल्दै सांसद कर्णले मधेसी मोर्चाले खोजेका मागलाई कतैबाट स्वीकार नभएको बताउनुभयो । उहाँले अब वार्तालाई शीर्ष नेताहरूले नै छलफल गरेर छिटो माध्यमबाट सहमति खोज्नुपर्ने बताउनुभयो ।
मधेसी मोर्चाका नेता समेत रहेका सद्भावना पार्टीका सांसदहरूले आजको बैठक पनि बहिष्कार गरेका छन् । मधेसी र थारु सांसदहरू सदनको बैठक चलिरहेका बेला बाहिरिएका थिए ।
मधेस आन्दोलन चलेको पाँच महिना पुगेको बताउँदै उहाँले ५७ जनाले ज्यान गुमाइसक्दा पनि सहमति खोज्ने विषयमा चासो नदिएको आरोप लगाउनुभयो ।
उहाँले आफूहरू यो समस्या वार्ताबाट समाधान होस् भनेर चाहेको बताउनुभयो ।
भारतविरुद्ध संसदमा नारावाजी
यसैबीच, संसद बैठकमा नेपाल मजुदर किसान पार्टीका सांसदहरूले भारतविरुद्ध नारावाजी गरेका छन् । उनीहरूले तराई मधेसमा भारतीय चरम हस्तक्षेप भएको भन्दै भारतविरुद्ध नारावाजी लगाएका हुन् ।
नेमकिपाका ३ जना सांसदले सदन बैठक चलिरहेका बेला आ–आफ्नो सिटबाट उठेर भारतीय हस्तक्षेप बन्द गर, भारतीय हस्तक्षेप मुर्दावाद जस्ता नारावाजी गरेका हुन् ।












प्रतिक्रिया