काठमाडौं, ५ माघ । प्रमुख शीर्ष दलले मधेसी मोर्चासँग संविधान संशोधनको प्रस्तावमाथि सहमति जुटाउने विषयमा परामर्श गर्न माघ ७ देखि ९ गतेसम्मको समय छुट्याएका छन् ।
संसद भवन नयाँबानेश्वरमा सभामुख ओनसरी घर्तीसहित प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठकले संविधान संशोधनको प्रस्तावमा ७ गतेदेखि छलफल चलाउने निर्णय गरेका हुन् ।
बैठकपछि पत्रकारसँग कुरागर्दै उपप्रधान एवम रक्षामन्त्री भीम रावलले ७ गतेसम्म मधेसी मोर्चासँग राजनीतिक सहमतिका लागि सम्वाद गर्ने बताउनुभयो ।
‘संविधान संशोधनमा ७ गतेदेखि सदनमा छलफल चलाउने प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सहमति भएको छ’, उपप्रधानमन्त्री रावलले भन्नुभयो, ‘७ गतेदेखि ९ गतेसम्म सहमति खोज्ने यदि ९ गतेसम्म सहमति नभएमा अहिलेकै संविधान संशोधन प्रस्तावलाई नै पारित गर्ने विषयमा पनि सहमति भएको छ । छलफल चलाएका छौँ ।’
शीष तीन दलका नेताहरूको निर्णयसँगै संविधान संशोधनको विधेयकमाथिको छलफल माघ ७ गतेसम्मका लागि सरेको छ । सदनको बैठक चले पनि संविधान संशोधनमा छलफल हुने छैन ।
संविधान संशोधन प्रस्तावका विषयमा मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर अनुमोदन गराउन प्रमुख दलहरूले छलफल गर्दै आएका थिए । तर सोमबार रातिदेखि दलहरूका बीच सीमाङ्कनमा विवाद भएपछि गतिरोध देखिएको छ ।
सीमाङ्कनका विषयमा उपप्रधानमन्त्री रावलले राजनीतिक छलफल आवश्यक रहेको भन्दै तराई मधेसमा दुई प्रदेश दिन नसकिने बताउनुभयो ।
यसैबीच, संसदको बैठक तोकिएको समयभन्दा निक्कै ढिला गरेर सुरु भएको छ ।












प्रतिक्रिया