
– विमल योगी
काठमाडौं, ५ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कार्यदलस्तरीय छलफल र सम्वादको औचित्य समाप्त भएको भन्दै अब शीर्ष तहमा छलफल हुनेपर्ने धारणा सार्वजनिक गरेको छ ।
काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा पत्रकार सम्मेलन गरेर कार्यदलमा सहभागी मधेसी मोर्चा सदस्यहरूले कार्यदलस्तरीय वार्ताको औचित्य समाप्त भएको जनाएको हो ।
तमलोपा सहअध्यक्ष हृदयश त्रिपाठीले कार्यदलस्तरबाट मधेसी मोर्चाका माग सम्बोधन हुन नसक्ने बताउनुभयो । ‘कार्यदलस्तरीय वार्ताको औचित्य समाप्त भएको छ’, त्रिपाठीले भन्नुभयो, ‘अहिलेसम्म कार्यदलमा भएको सबै प्रगति सोमबार राति भएको वार्ताबाट कांग्रेस, एमाले र एमाओवादीले भताभुङ्ग पारेका छन् ।’
मधेसी मोर्चा वार्ता र सम्वादबाट नभागेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । ‘हामी वार्ताबाट भागेका छैनौँ’, कर्णले भन्नुभयो, ‘कार्यदलस्तरको वार्ताले अब निकास निकाल्न सक्ने हामीले पाएनौँ ।’ मधेसी मोर्चाका तर्फबाट कार्यदलमा सहभागी सदस्यहरूले सबै दोष कांग्रेस, एमाले र एमाओवादीलाई दिएका छन् ।
कार्यदलमा सीमाङ्कनमा तराई मधेसमा दुई प्रदेश, कार्यदलको बैधानिकता, अंगिकृति नागरिकता लिएकालाई अधिकार, प्रादेशिक न्यायपालिका, प्रदेशको भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्व, निर्वाचन क्षेत्र निर्धारणलगायतका विषयमा छलफल हुँदै आएको थियो ।
सीमाङ्कनबाहेकका अन्य विषयमा सहमति नजिक नजिक पुगेको तमलोपा बरिष्ठ सहअध्यक्ष त्रिपाठीले बताउनुभयो । मधेसी मोर्चाले तराई मधेसमा दुई प्रदेशको माग गर्दै कार्यदलको संवैधानिक अधिकार माग गरेपछि कांग्रेस, एमाले र एमाओवादीले माग अस्वीकार गरिदिएका थिए ।
पत्रकार सम्मेनमा मधेसी त्रिपाठी र कर्णका साथै संघीय समाजवादी फोरम नेपालका नेता मंगलसिद्धि मानन्धर र तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायको सहभागिता रहेको थियो ।












प्रतिक्रिया