काठमाडौं, ५ माघ । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी ओलीसँग आफ्नो सम्बन्ध नविग्रिएको बताउनुभएको छ । उहाँले सरकार सञ्चालनका बेला हुने सामान्य कमिकमजोरीलाई सच्चाएर जानेपर्ने बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री थापाले भन्नुभयो, ‘प्रधानमन्त्री र मबीच कुनै कुरा मिलेको छैन भनेर आएका समाचारमा सत्यता छैन’, उहाँले भन्नुभयो, ‘केही समन्वय र कमिकमजोरीमा प्रधानमन्त्रीले कुटनीतिज्ञहरूसँग भेट्नभएको हो । मैले यस विषयमा प्रधानमन्त्रीसँग चासो राखिसकेको छु ।’
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री थापाले अगाडि भन्नुभयो, ‘सचिवालयको कमिकमजोरीले प्रधानमन्त्री ज्यूले कुटनीतिज्ञहरूसँग भेटको नबोलाएको हो ।’ प्रधानमन्त्री ओलीले परराष्ट्रमामिलाका विषयमा चासो राख्नुलाई आफूले कुनै ठूलो विषयका रुपमा नलिएको उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले केही दिनअघि आफ्नै सरकारी निवास बालुवाटारमा नेपालस्थित कुटनीतिज्ञहरूलाई बोलाएर परामर्श गर्नुका साथै दिवा भोज गराउनुभएको थियो । सो भोज र भेटमा उपप्रधान एवम् परराष्ट्रमन्त्री थापालाई बोलाइएको थिएन । प्रधानमन्त्रीले नबोलाएपछि मन्त्री थापा रिसाएको समाचार सार्वजनिक भएका थिए ।
परराष्ट्रमन्त्री थापालाई प्रधानमन्त्री ओलीले नबोलाएको विषयलाई लिएर भएका विभिन्न नकारात्मक टिकाटिप्पणीको आज आफैले खण्डन गर्नुभएको हो ।












प्रतिक्रिया