१४ कार्तिक २०८३, शनिबार

विश्वयुद्धमा ज्यान गुमाएका साठी हजार ‘वीर गोर्खाली’को स्मृतिमा स्मारक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

8-Gorkha-Rifles

– वासुदेव पौडेल
पोखरा, ४ पुस । गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) को सक्रियतामा स्याङ्जा जिल्लाको फेदीखोला गाविस वडा नं ८ साल्मी डाँडामा, विश्वयुद्धमा ज्यान गुमाएका ६० हजार नेपालीको स्मृतिमा गोरखा स्मारक बन्ने भएको छ ।

विश्व शान्तिका लागि नेपालीले विभिन्न युद्धमा सहादत प्राप्त गरेपनि उनीहरूको योगदानको कदर हुन नसकेको भन्दै गेसोले योगदानलाई जीवन्त राख्ने महत्वपूर्ण स्थलका रुपमा स्मारक निर्माण गर्न लागेको हो ।

पर्यटकीयरुपले अत्यन्त दर्शनीय साल्मीडाँडामा करिब ३०० रोपनी क्षेत्रफल जग्गालाई समेटेर स्मारकसहित जातीय सङ्ग्रहालय, सुविधायुक्त रिसोर्ट, हरित बगैँचा आदि निर्माणको योजना अघि सारिएको गेसोका अध्यक्ष पदमबहादुर गुरुङले बताउनुभयो ।

“विश्वमा शान्तिका लागि ६० हजार गोरखा सैनिकले ज्यान गुमाएका छन्”– उहाँले भन्नुभयो– “जोस जाँगर भएका १४ देखि ४० वर्षसम्मका युवालाई विश्वयुद्धमा होमिए पनि नेपालले केही पाउँन सकेन, तिनै नेपालीको स्वाभिमान र अस्तित्वको खोजीका लागि स्मारकलाई एउटा महत्वपूर्ण स्थलका रुपमा विकास गर्ने सोंचमा छौँ ।”

युद्धमा ज्यान गुमाएका नेपालीका सम्बन्धमा उनीहरुले कहाँ कसरी र किन ज्यान गुमाउनुपरेको ब्रिटिस सरकारले जानकारी नदिएको र उनीहरूको आफ्नो धार्मिक संस्कारअनुसार काजकिरियासमेत हुन नसकेको बताउँदै उहाँले विदेशी भूमिमा तड्पिएको आत्मालाई मुक्ति दिन गेसोले साल्मी डाँडामै २०६९ मङ्सिर ५ गतेदेखि तीन दिन १९ जातजातिका धर्मगुरु र कन्या राखेर आआफ्नो संस्कारअनुरुप सामूहिक काजकिरियासमेत गराइसकेको बताउनुभयो ।

विभिन्न अध्ययन तथा अनुसन्धानका क्रममा नेपालका विभिन्न १९ जातजातिका युवाले विश्वयुद्धमा ज्यान गुमाएका थिए ।

Gorkha-Smarak-1024x576

गोरखा स्मारक निर्माणसँगै विश्वयुद्धमा ज्यान गुमाएका १९ वटै जातजातिको सांस्कृतिक सङ्ग्रहालय बनाउने लक्ष्य राखिएको गेसोका गण्डकी–धवलागिरि समितिका अध्यक्ष हर्कबहादुर पुनले बताउनुभयो ।

“सङ्ग्रहालयमा १९ वटै जातजातिका संस्कृतिलाई राखिनेछ”– उहाँले भन्नुभयो– “प्राकृतिक दृश्यावलोकनका लागि अत्यन्त उपयोगी स्थलका रुपमा रहेको यस स्थलमा निर्माण गरिने हरित बगैँचा, सुविधासम्पन्न रिसोर्ट आदिले यहाँको पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान दिनेछन् ।”

साल्मी डाँडाबाट पर्यटकलाई लोभ्याउने माछापुच्छ«े, धवलागिरि, अन्नपूर्ण हिमशृङ्खलालाई एकसाथ हेर्न सकिन्छ भने यहाँबाट कास्की, स्याङ्जा, पर्वतलगायतका जिल्लाका साथै पुम्दीकोट, उल्लरी गाउँ, टोर्के, आरुखर्क, फेदीखोला, नुवाकोट, आले देउराली, चारघरे, मट्टीखानलगायतका दर्शनीयस्थल एकसाथ अवलोकन गर्न सकिन्छ ।

स्मारकसहितका पूर्वाधार निर्माण र यहाँको समग्र पर्यटकीय विकासका लागि लगभग रु १० करोडको लागतको योजना अघि सारिएको बताउँदै गेसोका अध्यक्ष गुरुङले निर्माणाधीन स्मारक निर्माणका लागि हालसम्म रु आठ करोड ५० लाख सङ्कलन भइसकेको जानकारी दिनुभयो ।

“पर्यटकीय विकासलाई लक्षित गरी साल्मी डाँडाबाट कास्कीको भरतपोखरीसम्म जोड्ने पाँच डिब्बाको रेलमार्ग निर्माणको योजनासमेत राखिएको छ”– उहाँले भन्नुभयो ।

रेलमार्ग निर्माणको योजना अघि बढाउनसके माछापुच्छ«ेसहितका हिमशृङ्खला एकसाथ अवलोकन गर्दै कास्कीको पोखराको फेवातालसहित लेखनाथका सात ताल आदिको उच्च पहाडी भूभागबाट हेर्दै रेलको यात्रा गर्न सकिन्छ ।

यो योजना अघि बढाउनसके पर्यटकीयस्थल मट्टीखान, साम्मी, निर्मलपोखरी, बर, पाण्डेथुम हुँदै हुडिकोटसम्मको यात्रा र भरतपोखरीस्थित धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य कोटभैरव मन्दिरसम्म पर्यटकलाई पु¥याउन सकिने स्थानीयवासीहरू बताउँछन् ।

साल्मी डाँडामा गोरखा स्मारक निर्माण गरी विश्वयुद्धमा ज्यान गुमाउने नेपालीको स्मृति एवम् सम्मान गर्न र यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदानका लागि गेसोले सुरु गरेको अभियानमा सबैको सकारात्मक सहयोग आवश्यक हुने नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ कास्कीका अध्यक्ष हुम गुरुङले बताउनुभयो ।

महासङ्घले आजै स्मारक निर्माणका लागि एकदिने श्रमदान कार्यक्रम पनि सम्पन्न गरेको छ । रासस