१४ कार्तिक २०८३, शनिबार

राजधानीमा खुकुरी हानेर लुटपाट गर्ने गिरोहका तीन जना हतियारसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackकाठमाडौँ, ४ माघ । राजधानीमा धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने गिरोहका तीन जनालाई प्रहरी पक्राउ गरेको छ ।

राजधानीको बौद्ध एरियाको विभिन्न स्थानहरुमा धारिलो हतियार प्रहार गरी कुटपिट तथा लुटपाट घटनामा संलग्न रही फरार रहेका तीनजनालाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरी सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने मकवानपुर हेटांैडा उपमहानगरपालिका–३ पदमपोखरी घर भएका भिम तामाङ्ग, सिन्धुपाल्चोक पाङताङ–७ घर भएका अनिल विक र हेटौडा उपमहानगरपालिका–७ घर भएका गौतम थिङ्ग रहेका छन् ।

प्रहरीले उनीहरुबाट १ थान खुकुरी, १ थान रड, ४ थान विभिन्न कम्पनीको मोवाइल र सिमकार्ड १ थान समेत बरामद गरेको छ ।

उनीहरुले माघ १ गते गौरीघाटमा काठमाडौँ महानगरपालिका–७ बस्ने २४ बर्षीय रवि गुरुङ्गलाई खुकुरी प्रहार गरी नगद ४५ हजार रुपैयाँ र १ थान आईफोन लुटपाट गरेका थिए भने पुस ३० गते काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने २२ बर्षीय गुरु भोटेलाई कुटपिट गरी मोवाइल २ थान लुटेका थिए ।

यसैगरी उनीहरुले पुस २९ गते बुढानिलकण्ठ नगरपालिका–१४ कपन बस्ने सन्तोष खड्कालाई खुकुरी प्रहार गरी घाइते बनाई मोवाइल लुटपाट गर्नुको साथै बौद्ध तिनचुली बस्ने कर्मा वाङ्गगेल लामालाई पुस १७ गते कुटपिट गर्नुका साथै मंसिर १६ गते आरुवारी बस्ने बिष्णु प्रसाद घिमिरेलाई कुटपिट गरी नगद १६ हजार रुपैयाँ र मोवाइल लुटपाट घटनामा संलग्न रहेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ ।