संयुक्त राष्ट्रसंघ, ४ माघ । संयुक्त राष्ट्रसंघले इरानको बैंकमाथि विगत लामो समयदेखि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको समाचार छ ।
संयुक्त राष्ट्रङ्घीय सुरक्षा परिषदले सो प्रतिबन्ध फुकुवा गरेको जनाएको हो । इरानको सेपाह बैंकमाथि विगत लामो समयदेखि लगाएको प्रतिबन्ध फुकुवा गरेको जनाएको हो ।
उक्त परिषदले हालैका दिनमा इरानले पु¥याउँदै आएका आवश्यक पूर्व सर्तहरुको आधारमा इरानको सो बैंकमाथिको प्रतिबन्धमाथि फुकुवा गरिएको जनाएको हो ।
इरान र अरु छवटा प्रमुख राष्ट्रबीचको पारमाणविक सम्झौताको कार्यान्वयनका बारेमा आवश्यक मापदण्डहरु पूरा गरेकोले सो प्रतिबन्ध फुकुवा गरिएको जानकारी गराइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय प्रस्ताव नम्बर २२३१ को कार्यान्वयनका विषयमा इरान र अरु छ सदस्य राष्ट्रबीच सम्झौता भएको बताइएको छ ।
राष्ट्रसङ्घीय आणविक निकायले इरानले विश्वशक्ति राष्ट्रहरूको पहलमा सन् २०१५ जुलाई १४ मा भएको परमाणु हतियार बनाउन रोक्ने सम्झौताको पालना गरेपछि इरानमाथिको प्रतिबन्ध हटाइएको हो ।
प्रतिबन्धको फुकुवापछि इरानी सङ्घसंस्था तथा व्यक्तिहरूको खर्बौ डलर बराबरको सम्पत्ति फुकुवा हुने र इरानी तेल अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने बाटो खुलेको छ ।
इरानका राष्ट्रपति हसन रौहानीले पनि संयुक्त राज्य अमेरिका र युरोपेली युनियन (ईयू) ले इरानमाथि लगाउँदै आएको प्रतिबन्धहरू फुकुवा गरेको आइतबार बताउनुभएको छ । उहाँले यसलाई इरानको जितको संज्ञा पनि दिनुभएको छ ।
उक्त बैंकलाई सन् २००७ देखि अन्तर्राष्ट्रिय रुपमा कारोबार गर्न वा अन्य आर्थिक प्रक्रियाका लागि पनि प्रतिबन्ध लगाइएको थियो । रासस/सिन्ह्वा















प्रतिक्रिया