२३ कार्तिक २०८३, सोमबार

बन्दुक बोक्दैमा नेपाल हिन्दू राज्य हुँदैन्, चुनावमा बहुमत ल्याएर देखाउँछौंः कमल थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaभक्तपुर, ३ माघ । उपप्रधानमन्त्री तथा परराष्ट्र एवम् स्थानीय विकासमन्त्री कमल थापाले वर्तमान संविधान सम्झौताको दस्तावेज भएको बताउनुभएको छ ।

आज भक्तपुरको सूर्यविनायकमा राप्रपा नेपाल जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आफ्नो एजेन्डाले हारेपनि वर्तमान संविधानसँग सम्झौता गर्नुपरेको बताउनुभयो ।

राप्रपा नेपाल संविधानको सबै विषयमा सहमत नभएको चर्चा गर्दै उहाँले राप्रपा नेपालका २५ जना सभासद्ले मात्रै संविधानको विपक्षमा उभिएर संविधानको आलोचनात्मक समर्थन गरेको बताउनुभयो ।

उपप्रधानमन्त्री थापाले भन्नुभयो, “राप्रपा नेपालको हिन्दू राज्य र राजसंस्थाको एजेन्डा स्थापित नभए पनि हामीले आत्मसमर्पण गरेका छैनौँ, त्यसैमा अडिग छौँ र रहने छाँै ।”

“विगतमा राणा शासन, पञ्चायती व्यबस्था, बहुदलीय व्यवस्थामा समेत देश टुक्र्याउने आवाज उठेको थिएन तर अहिले इतिहासमै पहिलोपटक केहीले देश टुक्र्याउने आवाज उठाउँदै सेना तयार पार्दैछन्”, उहाँले भन्नुभयो । अहिलेसम्म नेपाललाई टुक्र्याउने आवाज कसैले पनि उठाउन नसकेको अबस्थामा अहिले देश टुक्र्याउन खोज्नेहरु जन्मिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “संविधान जारी गर्दा बाह्य शक्तिले चलखेल गरेकै कारण नाकाबन्दी गरेर जनताको चुलोचौको बन्द गराउन खोजियो, त्यस्ता बाह्यशक्तिसँग हाम्रा देशका नेताहरु अझै पनि उठबस गर्ने र आत्मसमर्पण गर्ने गर्दैछन् ।”

उहाँले अहिलेको संविधानले विचारको स्वतन्त्रता दिएको, पार्टीलाई प्रतिबन्ध पनि लगाउन नपाउने र चुनावमा जितेर आउने पार्टीले संविधान परिवर्तन गर्नसक्ने व्यबस्था गरेका कारण यो संविधानलाई स्वीकारेको बताउनुभयो ।

संविधान बहाल भएसम्म यो संविधानलाई स्वीकारेर जानुपर्ने बताउँदै उहाँले राप्रपा नेपालले जनताको अभिमतबाट दुई तिहाइले संविधान नै परिवर्तन गरेर राप्रपा नेपालको एजेन्डा स्थापित गराउने उहाँले दाबी गर्नुभयो ।

राप्रपा नेपाल जन्मनुको कारण बताउँदै उहाँले भन्नुभयोे, “विपरीत दुई दिशामा हिँडेका फरक विचारका काँग्रेस, एमाले र एमाओवादीलाई भारतले संयोजन गरेर अपवित्र एक ठाउँमा ल्यायो, यी दुई शक्तिबीचको अपवित्र गठबन्धनका कारण यो पार्टी जन्मिएको हो ।”

जनताको अभिमत बिना नै राजसंस्थालाई पाखा लाउने र हिन्दू राज्य हटाउने काम भएको भन्दै उहाँले हिन्दू राज्यको पक्षमा अहिले पनि दुई तिहाइभन्दा बढी जनता रहेको दाबी गर्नुभयो ।

पार्टीको मान्यतालाई स्थापित गर्ने रणनीतिक योजनाअनुसार नै संविधानलाई स्वीकारेर पार्टी सरकारमा गएको बताउँदै उहाँले भन्नुभयो, “सरकारमा जाने निर्णय पार्टीको एजेन्डालाई छाड्ने होइन पार्टीलाई बलियो बनाउने रणनीतिक योजनाअनुसार नै सरकारमा गएका हौँ ।”

बन्दुक बोकेर जङ्गल पस्दैमा वा कमण्डलु लिएर जोगी हुँदैमा राप्रपा नेपालको एजेन्डा सफल पार्न नसकिने बताउँदै उहाँले अबको चुनावमा आफ्नो बलमा सरकार निर्माण गर्नसक्ने अवस्थामा पार्टीलाई पु¥याउने योजनाअनुसार नै सङ्गठन विस्तार अभियान सुरु गरेको बताउनुभयो ।

कार्यक्रममा भूमिसुधार सहायकमन्त्री दिनेश श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य रामेश्वर थापाले पार्टी विस्तारका लागि सुरु गरिएको अभियानलाई सफल पार्न कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस