
– झलक पाली
डोटी, २९ पुस । मुक्त हलिया परिचयपत्र प्रदान गरिदिन अनुरोध सहित राष्ट्रिय हलिया मुक्ति समाज डोटीमा मंगलबार मात्रै १५ जनाको निवेदन परेको छ ।
आफूहरु अहिले पनि हलिया भएर काम गरिरहेको भन्दै एकैदिन १५ वटा निवेदन दर्ता गराएको राष्ट्रिय हलियामुक्ति समाज डोटीका कार्यक्रम संयोजक गोरख सार्कीले बताए । जसमध्ये १३ जना कपल्लेकी गाविस ९ सेरी गाउँका, १ जना कपल्लेकी ७ तल्ली गुमका र १ जनाकलेना २ मल्लो कलेनाबाट निवेदन परेको संयोजक सार्कीले बताए ।
आफ्ना सशुराका पालामा कपल्लेकी ८ खाँतीगाउँका रण बहादुर शाहीको परिवारबाट २० हजार ऋण लिएको र सोहिबाफत अहिलेसम्म पनि उनको घरमा काम गर्नुपरिरहेको निवेदन दर्ताकालागि जिल्ला सदरमुकाम पुगेकी कपल्लेकी ९, सेरी गाउँकी लाली भुलले बताईन् । झण्डै १४/१५ वर्ष पहिले सशुरा र १२/१३ वर्ष पहिले श्रीमान गुमाएकी लालीले भनिन्–‘हामी सुकम्बासी हौं, हामीसँग केहि पनि छैन, सशुराले लिएको ऋण मेरो श्रीमानले पनि हलिया भएर काम गरे, श्रीमान पनि बितेपछि अहिले मैले पनि काम गर्नुपरिरहेको छ ।’ यद्यपीकाम गरेवाफत अन्नपात दिने गरेको र लालीको छारा भएकाले जहिले भएपनि पैंसा तिर्नुपर्ने दवाव आईरहेको उनले बताईन् ।
त्यस्तै सेरी गाउँकै ४० वर्षे ईन्द्र टमटाले १६ वर्षदेखी स्थानीय विद्यालयमा शिक्षक समेत रहेका गगन सिं कार्कीको घरमा काम गर्दै आईरहेका बताएका छन् । आफू सुकुम्बासी भएको र कार्कीबाट विभिन्न बेलामा मागेको ऋण झण्डै २० हजार नाघेको उनले बताए ।
त्यस्तै सेरीगाउँकै ३४ वर्षीया देवीभुलले पनिआफ्ना सशुराले लिएको ऋणका आधारमा अहिलेसम्म मलपर्साेदेखि खेतीपातीमा काम गर्नुपरिरहेको बताईन् । सेरी गाउँकै रण बहादुर शाहीबाट आफ्ना सशुराले केकालागि र कति ऋण लिएका हुन् त्यो आफूलाई थाहा नभएको बताउँदै १४ वर्ष पहिले सशुरा र १३ वर्ष पहिले श्रीमान बितेको भएपनि हालसम्म हलिया भएर काम गरिरहेको उनले सुनाईन् ।
त्यस्तै सेरीगाउँकै ४७ वर्षीया मन्धरी भुलले कपल्लेकीकै नारायण महराबाट श्रीमान हिरुवा भुल बिरामीपर्दा धेरै वर्ष पहिले ५० हजार ऋण लिएको र सो रकम सावाँ, व्याज तिर्न नसक्दा समस्यामा परेको बताईन् । उनले भनिन्–‘जेठो छोराले अब छोराले विहे गरेर अलग्गीएर बसेको छ, कान्छो १५ वर्षको भैसक्यो ऋण फिर्ता मागे भने कसरी तिर्ने भन्ने चिन्ता रहेको छ ।’
त्यस्तै कलेना २ का ४२ वर्षीया बाजी कामीले आफ्ना बाजेका पालामा स्थानीय माने साउदसँग लिएको २५ हजार ऋण तिर्न नसक्दा २० वर्षदेखि कामगर्दै आएको बताए । आफूले हलो जोत्नेदेखि लिएर फलामका भाँडाकुँडा कार्ने (धार निकाल्ने) र खेतीपातीको समयमा विभिन्न काम गर्दै आएको बाजीले सुनाए । उनीहरुले काम गर्दै आएका भनिएका व्यक्तिहरुसँग सम्पर्क भने गर्न सकिएको छैन ।
परिचयपत्रका लागि निवेदन दर्ता गराउने हलियाहरुले भनेका आधारमा न्यायिक तथा अर्ध न्यायिक निकायसँगको समन्वयमा छानविनको दायरामा ल्याउन आफूहरुले पहल गर्ने राष्ट्रिय हलियामुक्ति समाजका कार्यक्रम संयोजक गोरख सार्कीले बताए । अझै पनि डोटीका विभिन्न गाउँठाउँमा हलियाहरु मुक्त हुन नसकेकाले अभियानकै रुपमा अगाडी बढ्नुपर्ने सार्कीको भनाई छ ।
हलिया आन्दोलनको मर्म र नेपाल सरकारसँग भएको सम्झौताका आधारमा वि.सं. २०६५ भाद्र २१ मा हलिया मुक्तिको घोषणा भईसकेकाले आफुलाई हलिया हुँ भनि निवेदनदर्ता गराउन व्यक्तिहरुबारे छानविन गरिनुपर्ने राष्ट्रिय हलिया मुक्ति समाज महासंघका पूर्व अध्यक्ष एवं राष्ट्रिय मुक्त हलिया पुनःस्थापना महासंघका अध्यक्ष डम्बर विकले बताए । उनले भने–‘निवेदकले दिएको जानकारी अनुसार शिक्षकहरुले समेत हलियाका रुपमाकाम गराईरहेका छन्, जिम्मेवार पदमा बसेका व्यक्तिहरुले समेत हलिया राखिरहेकाले स्थानीय प्रशासनले पक्राउ गरेर कारवाही गर्नुपर्छ ।’ उनले थपे-‘हलियामुक्तीको घोषणा सँगै सम्पूर्ण ऋण मिनाहा भईसकेकाले मुक्ति घोषणा भएपश्चात ऋण फिर्ता माग्ने र तिर्ने समेतलाई कारवाही हुनुपर्छ ।’
२०६५ भाद्र २१ माहलियामुक्तिको घोषणा भईसकेकाले अहिले पनि हलो जोत्नुपर्ने कुरा स्वतःकानुन र सरकारको निर्णयको बर्खिलाप भएको उनको भनाई छ ।












प्रतिक्रिया