काठमाडौँ, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति बिथोलिएको र समाज निदाएको बेला स्रष्टाहरुले जागेर समाजलाई उठाउन भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
वरिष्ठ साहित्यकार, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा साझा प्रकाशनका पदाधिकारीको सम्मानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित रात्रिभोजमा उहाँले नेपाली साहित्य र सिर्जनालाई विश्व रङ्गमञ्चमा स्थापित गराउन आफूले मनभित्रैदेखि संरक्षकको भूमिका खेल्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री प्रतिष्ठानको प्रमुख संरक्षक रहने व्यवस्था छ ।
‘‘आदिकवि भानुभक्त आचार्यदेखि राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका मूर्धन्य स्रष्टाको नाम लिँदै उहाँले बरु प्रधानमन्त्रीको नाम बिर्सने स्थिति होला तर त्यस्ता स्रष्टाहरुको नाम इतिहासले बिर्सने छैन्’’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले लोकतन्त्रलाई झगडालु व्यवस्थाका रुपमा नभई समूचित र समुन्नत प्रणालीका रुपमा स्थापित गर्न पनि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
आर्थिक रुपमा जर्जर बनेको साझा प्रकाशनलाई एकपटकका लागि सहयोग गरी बचाउने काम गरिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले प्रधानमन्त्री ओलीलाई आफ्नो उखान र अडानको शैली नछाड्न आग्रह गर्दै सबै नेपाली मिलेर राष्ट्रका निम्ति एकजुट हुनुपर्ने बताउनुभयो ।
संस्कृतिविद् सत्यमोहन जोशीले साहित्यबाटै देश उठाउन सकिने र यसले नै मेची–महाकालीका जाति, भाषा र संस्कृतिबीच एकताको आधार तय गर्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका पूर्व उपकुलपति बैरागी काइँलाले चुँडिएका देशबासीको मन गाँस्नका लागि साहित्यले रसायनको काम गर्ने भएकाले प्रधानमन्त्रीलाई साहित्यकारको सम्मानको परम्परा कायम राख्न सुझाव दिनुभयो ।
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले १०३ वर्षको इतिहास बोकेको प्रकाशन बचाउन तत्कालका लागि रु २० करोड सहुलियत ऋण दिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गर्दै पत्र बुझाउनुभयो ।
उपस्थित स्रष्टाहरुलाई प्रधानमन्त्री ओलीले नै कार्यक्रमको थालनी गर्नुभएको थियो भने उहाँकी धर्मपत्नी राधिका शाक्यले दोसल्लाबाट सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ठ साहित्यकार डा वासुदेव त्रिपाठी, गीताकेसरी, डा विश्वविभू घिमिरे, डा जिवेन्द्रदेव गिरी, डा जयराज आचार्य, पूर्वमन्त्री तथा लेखक दीनानाथ शर्मा, पूर्व मुख्यसचिव लीलामणि पौड्याललगायतको जमघट थियो । रासस















प्रतिक्रिया