जुम्ला, १८ पुस । दुर्गम क्षेत्रको सुरक्षा अवस्था निरीक्षण गर्न जुम्ला आइपुग्नुभएका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राज्यको सेवा सुविधा कर्णालीमैत्री हुनुपर्ने बताउनुभएको छ ।
महानिरीक्षक अर्यालले शुक्रबार कर्णाली अञ्चल प्रहरी तथा जिल्ला प्रहरी कार्यालय जुम्लामा निरीक्षण गर्नु भएको थियो । जिल्लाको सुरक्षा अवस्थाका बारेमा जानकारी लिने क्रममा उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आगलागीको घटनाको सत्यतथ्य पत्ता लगाउन विशेषज्ञ नेतृत्वको केन्द्रीय टोलीले जिम्मा लिएको बताउनुभयो ।
स्थानीयले कर्णालीको स्वास्थ्य क्षेत्रको विकासमा स्वरुप फेरिँदै गरेको प्रतिष्ठानको अनुसन्धान आशङ्काजनक छ भन्दै प्रभावकारी अनुसन्धान गर्नुपर्ने माग प्रहरी प्रमुख अर्यालसँग राखेका छन् ।
राप्रपाका जिल्ला सदस्य कालिबहादुर महतले प्रतिष्ठान आगलागीको अनुसन्धान झारो टार्ने जस्तो भएको टिप्पणी गर्नुभयो । नेकपा क्रान्तिकारी माओवादीका हरिबहादुर भण्डारीले अनुसन्धान प्रभावित हुने गरी ढिलाइ नगर्न सुझाव दिँदै प्रतिष्ठान घटनाको भरपर्दो र विश्वसनीय अनुसन्धान गर्न आग्रह गर्नुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सूर्यमान लिम्बूले प्रतिष्ठानको विस्तार हुँदै गरेकाले अस्पताल नजिक चौकी स्थापना गर्न माग गर्नुभयो । जिल्लास्थित सम्पूर्ण राजनीतिक दल तथा नागरिक समाजले जुम्लाको सुरक्षा अवस्थाअनुसार दरबन्दी बढाइनुपर्ने, द्वन्द्वकालमा भत्केका तथा जलेका प्रहरी चौकीको पुनःनिर्माण, प्रहरीमा कर्णालीको रोजगारीको सुनिश्चतता, महिला हिंसा न्यूनीकरणमा प्राथमिकता, कर्णाली राजमार्गमा ट्राफिक नियम प्रभावकारी सुधार हुनुपर्ने सुझाव राखेका थिए ।
सो अवसरमा महानिरीक्षक अर्यालले यहाँको सुरक्षा अवस्था प्रभावकारी बनाउन आगामी दरबन्दीमा प्राथमिकता रहने, प्रहरीमा कर्णालीको रोजगारी वृद्धि गर्न जिल्लाबाटै फारम भर्ने वा परीक्षा गर्न सकिनेबारेमा छलफल गर्ने, महिलालाई प्रहरीमा रोजगारीको प्राथमिकता दिनेलगायतका प्रतिबद्धता जनाउनुभएको छ । उहाँले अहिले बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने योजना रहेको छ । महानिरीक्षक अर्याल जुम्लामा आइपुग्ने अहिलेसम्मकै पहिलो प्रहरी प्रमुख हुनुहुन्छ । रासस












प्रतिक्रिया