महेन्द्रनगर, १८ पुस । कञ्चनपुरमा मादक पदार्थ सेवन गरी महिलाको बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको पुनर्बास नगरपालिका–१४ बस्ने २८ बर्षीया महिलालाई जवरजस्ती अस्मिता लुटेको अभियोगमा बेलौरी नगरपालिका–७ बस्ने ३३ बर्षीय केशव चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
कञ्चनपुर प्रहरी प्रमुख किशोर दाहालका अनुसार महिलालाई बुधबार राति भान्सा कोठामा खाना खाइरहेको अवस्थामा मादक पदार्थ सेवन गरेका चौधरीले बलात्कार गरेका थिए ।
बलात्कार गरेको अरुले थाहा पाए बदनाम हुने भन्दै पीडित महिलाले जुम्रा मार्ने औषधि सेवन गर्दा असक्त भएकोले प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीबाट थप उपचारको लागि महाकाली अञ्चल अस्पताल लगिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको एसपी दाहालले जानकारी दिनुभयो ।












प्रतिक्रिया