सोमबार, २४ मंसिर २०७५
DainikNepal.com
सोमबार, २४ मंसिर २०७५

नेता पैसा खाने, प्रहरीका हाकिम अख्तियार धाउने ?

दैनिक नेपाल २०७२ पुष १७ गते २०:४८

Shibaji-shrestha

– शिवजी श्रेष्ठ

केही वर्षअगाडि सुडान काण्डमा नेपाल प्रहरीका पूर्व र बहालवाला प्रहरी प्रमुखहरु लगातार अख्तियारको छानबिनमा परे, जसरी फर्जी बिल प्रकरणमा सशस्त्र प्रहरीका वर्तमान र भूपू आइजीहरु तानिएका छन् । दोस्रो जनआन्दोलन अर्थात् गणतन्त्रपछि दबै प्रहरीका एक–एकबाहेक सम्पूर्ण पूर्वप्रमुख अख्तियारको छानबिनमा पर्नुले गम्भीर प्रश्न सिर्जना गरेको छ । के प्रहरीभित्र व्यापक भ्रष्टाचार छ ? अनि यो भ्रष्टाचारभित्र प्रहरी नेतृत्व मात्रै संलग्न छ वा राजनीतिक नेतृत्व पनि संलग्न छ त ? सुडान काण्डताका प्रहरी नेतृत्वसँग राजनीतिक नेतृत्व पनि मुछिएको समाचार बाहिरिएको थियो । पहिलो संविधानसभाको चुनावताका सरकारमा रहेका कांग्रेस र एमालेका नेताहरु मात्र हैन कि भर्खरै राजनीतिक मूलधारमा आएका तत्कालीन प्रतिपक्षी नेकपा एमाओवादीमा समेत चुनावी खर्चको छिटा परेको गरम समाचारले राम्रै ठाउँ पाएको थियो । त्यतिखेर प्रश्न उठेकै हो– किन बोल्दैनन् ती पूर्व प्रमुखहरु, राजनीतिक नेतृत्वको संलग्नताबारे ? बरु आफू मातहत निर्दोष अनि निमुखाहरु अख्तियार धाउन बाध्य भए तर प्रहरीका पूर्व चिफहरु ती मातहत निर्दोष अनि निमुखा प्रहरीहरुको असंलग्नता र राजनीतिक नेतृत्वको संलग्नताबारे चुँ पनि बोलेनन् ।

प्रहरीभित्र हुने ठूला भ्रष्टाचारहरु राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव नै छैन । एउटा जिल्ला प्रहरी प्रमुखको सरुवाका लागि त आइजीले गृहमन्त्रीको मुख ताक्नुपर्छ भने अरु के कुरा ?

प्रहरीभित्र हुने ठूला भ्रष्टाचारहरु राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव नै छैन । एउटा जिल्ला प्रहरी प्रमुखको सरुवाका लागि त आइजीले गृहमन्त्रीको मुख ताक्नुपर्छ भने अरु के कुरा ? सचिव र मन्त्री भएर गृहमा आउन तँछाडमछाड गर्नुपर्ने कारण पनि यिनै हुन् । प्रहरीको सरुवा–बढुवादेखि खरिद प्रकरण सबैमा गृहको चलखेल हुन्छ, त्यसैले मन्त्रीले आफू अनुकूल अर्थात् ‘यसम्यान’ लाई प्रमुखमा ल्याउन प्रयास गर्छन् ।

अरु केहि गर्ने पर्दैन, वर्षौं भूमिगत भएर १० वर्ष जनयुद्ध लडेको एमाओवादी मात्रै हैन, कांग्रेस, एमाले र राप्रपाबाट गृह मन्त्रालय सम्हालिसकेकाहरुको सुरुको (नेपाली कांग्रेसको जनआन्दोलनपछिको प्रथम सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण) गोरखापत्र दैनिकको वि.सं. २०४८ भाद्र २० मा प्रकाशित विवरण र नेकपा एमालेको प्रथम सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण (२०५१ मंसिर २७ मा प्रकाशित) सँग अहिलेको आर्थिक हैसियत दाँजे पुग्छ । यी सम्पत्तिबीच देखिएको फरक अरु केही होइन, यिनै प्रहरी प्रमुखहरुले सिपाहीको पेटमा लात हानेर चढाएको प्रसादीकै परिणाम हो ।

एउटा दृष्टान्त मात्रै, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा श्यामभक्त थापा नेपाल प्रहरी प्रमुख थिए, राजाको चलखेल र माओवादीको बढ्दो गतिविधिले गर्दा सुरक्षा बजेट बढ्दो थियो । माओवादीबाट बच्न पेरिमिटर सुरक्षाका लागि कन्सोटिन वायर किनियो । त्यो जालीमा फस्यो भने भैंसी पनि मर्ने प्रचार गरियो तर माओवादीहरु भने त्यो तार चटचट काटेर चौकीभित्र छिरी प्रहरीमाथि आक्रमण गर्थे, दोस्रो विश्वयुद्धताकाको थ्रि नट थ्री राइफल बोक्ने प्रहरीलाई मार्थे । चौकीमा त्यसरी सजिलै पसी प्रहरी मारेको खबरबाट मर्माहत भएर त्यो नक्कली (कमसल) तार खरिदप्रति आक्रोश पोख्दै जिल्ला प्रहरी कार्यालय लमजुङका एक जवानले ‘त्यही मारिएका सिपाहीकी बिधवा श्रीमतीको श्राप यो आइजिपीलाई लाग्ला’ भनी रोलकलमा आफ्नो सुवेदार मेजरमाथि पोखेको गुनासो चर्चित थियो । ती आइजिपीलाई सिपाहीकी श्रीमतीको श्राप लाग्यो– लागेन, आफ्नो ठाउँमा छ तर सिपाहीको पेटमा लात हानेर राजनीतिक नेतृत्वलाई खुसी पार्ने एउटा परम्परा चाहिँ त्यही बेलादेखि बस्यो ।

नेपालको प्रहरी इतिहासमा सिपाहीले मुक्तकण्ठमा बयान गर्ने दुईजना मात्र प्रमुख भए, खड्गजित बराल र डिबी लामा । जसले प्रहरीको भवनदेखि रासनसम्म, लत्ताकपडादेखि स्कुल र अस्पतालसम्म बनाएर गए । जसको बयान प्रहरी जवानहरुले गरिरहन्छन् । तर, त्यसपछिका अधिकांश प्रहरी प्रमुख जवानको बयानभित्र पर्न सकेनन् बरु अख्तियारको बयानमा पो परे ।

अहिले सशस्त्र प्रहरीका पूर्व प्रमुखहरुको यो हविगत हुनुमा पनि निमुखा सिपाहीको पेट र आङ्ग मारेर यिनै राजनीतिक नेतृत्वलाई खुसी पार्ने, पोस्ने कार्य प्रवृत्ति नै जिम्मेवार छ । प्रहरी प्रमुख भइसकेकाहरुले यति पनि सोच्न र बुझ्न सकेनन् कि त्यो ठाउँमा पुगिसकेपछि अब के हुनका लागि राजनीतिक नेतृत्वलाई पोस्ने हो ? आफैंलाई यो प्रश्न बहालमा छँदै सोध्न सकेको भए आज अख्तियारले लामा–लामा प्रश्न सोध्न पाउने थिएन । अनि ती प्रश्न दिनभरि सोध्दा पनि नसकिएर करोडौंको धरौटीका लागि छट्पटिनुपर्ने थिएन । आफू बाँच्न पुग्ने सम्पत्तिले नपुगेर आइजीसा’बहरुले साँच्ने सम्पतिको कमाइमा किन लागे ?

अब पूर्वप्रहरी प्रमुखका लागि पश्चातापका दिन आए, अरु उपाय नै छैन । तर, पनि यसमा आफू मात्रै कि ? माथिल्लो तहको राजनीतिक अनि प्रशासनिक नेतृत्व पनि जिम्मेवार छ ? बोलिदिए, तिनका पश्चातापमा केही राहत हुन सक्थ्यो । अब त बोल्नुस पूर्ब प्रहरी प्रमुखहरु , जसले आरामसाथ प्रहरीभित्र फेरि फेरि पनि धावा बोल्नेहरुको परम्परामा ‘ब्रेक’ लाग्थ्यो !

त्यसरी नै बहालवाला र भविष्यका प्रहरी नेतृत्वले पनि बेला छँदै सोचुन्– सिपाहीको पेट र आङमा लात मारेर यिनै राजनीतिक परजीवीलाई पोस्ने र आफू अख्तियारमा बयान दिन जाने कि म प्रहरीको अभिभावक हुँ भन्ने मनन गरेर अवकाशपछि पनि सिपाहीले हृदयदेखि बयान गरिरहने प्रहरी प्रमुख बन्ने ? तपाईंहरुले एउटा परम्परा स्थापित गर्ने अवसर पाउनुभएको छ । समय नघर्किँदै सोच्नुहोस, अनि त्यसलाई सदुपयोग गर्नुहोस्, यी पूर्व प्रमुखहरुको पश्चाताप र बयान पढ्ने अनि सुन्ने प्रयास गर्नुभयो भने तपाईंहरुलाई असल शिक्षा प्राप्त हुनसक्छ ।

लेखक पूर्वडीएसपी हुन्, अहिले बेलायतमा बस्छन् ।

प्रतिक्रिया
सम्बन्धित