– दीपक घिमिरे
लुम्बिनी (रुपन्देही), १७ पुस । पर्याप्त जनचेतना र संवादको अभावमा कष्टकरपूर्ण जीवन बिताइरहेका रुपन्देही र नवलपरासी जिल्लाको दक्षिणी ग्रामीण भेगका किशोर–किशोरीको जीवनशैली र जीविकोपार्जन अहिले फेरिएको छ ।
आफ्नै समुदाय तथा टोलका व्यक्तिहरुसँग समेत आँखामा आँखा मिलाएर हेर्न नसक्ने किशोरीहरु अहिलेको जीवन शैली फेरिएर आफ्ना सहपाठी तथा समाजका अन्य सदस्यहरुलाई परिवर्तनका विषयमा शिक्षा दिँदै हिँडेका छन् ।
आफ्नै गाउँको सम्पूर्ण विवरणसम्म पनि राम्रोसँग थाहा पाउन नसक्ने किशोरीहरु समाजको पुरातनवादी सोच र अन्ध विश्वासका कारण आफ्नो घरभन्दा बाहिर निस्कनसमेत सकिरहेका थिएनन् ।
अन्य समुदायको तुलनामा मुस्लिम समुदायका किशोरीहरुको अवस्था झनै कमजोर र संवेदनशील छ । कतिपय मुस्लिम समुदायका किशोरीहरु विद्यालय जान नपाए पनि आफ्नो समस्या र सवाललाई समेत आफ्नै घरपरिवारसँग भन्न लजाउने, हिच्किचाउने र डराउने किशोरीहरु झन् टोल छिमेकका साथीहरु र समुदायका मानिससँग खुलेर कुरा गर्नु त धेरै परको कुरा जस्तै थियो ।
आफ्नो उज्ज्वल भविष्यका लागि कुनै सपना नबोकेका किशोरीहरु आफ्नो वर्तमान जीवनसँग सम्झौता गर्दै बसिरहेको यथार्थता थियो ती क्षेत्रका किशोर किशोरीमा ।
सरसफाइ, विभिन्न साधारण रोगहरू, पोषण, एचआइभी तथा एड्स, किशोरावस्थामा हुने विभिन्न शारीरिक तथा मानसिक परिवर्तन र प्रजनन स्वास्थ्यबारे पर्याप्त जानकारी नहुँदा उनीहरु कुवाको भ्यागुतो जस्तै कुवामा नै हराएका थिए । तर एबिसी नेपालले स्ट्रोम फाउन्डेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१३ जनवरीदेखि रुपन्देही तथा नवलपरासी जिल्लाका बीसवटा दक्षिणी गाविसमा सञ्चालन गरेको संवाद कार्यक्रमले उनीहरुको जीवन शैली पूरै फेरिन पुगेको छ ।
एबिसी नेपालले रुपन्देही जिल्लाको बगौली, बोगडी, अशुरैना, रायपुर, करौता, फरेना, विसुनपुरा, कमरिया तथा नवलपरासी जिल्लाको हकुई, सुक्रौली, सनई, रुपौलिया, कुडिया, भुजहवा, पक्लिहवा, ठूलौ खैरटवा, नरसही, वेदौली, गेर्मी, गुठीपर्सौनीमा दलित युवाका लागि अधिकारमुखी शिक्षा (संवाद कार्यक्रम) सञ्चालन गरेको छ ।
जीवनसँग सम्बन्धित विभिन्न विषयमा चेतना अभिवृद्धि गराई आधारभूत साक्षरता, व्यवसाय तथा जीवन उपयोगी सीपको माध्यमबाट दलित तथा विपन्न वर्गका किशोर–किशोरीलाई आत्मनिर्भर बनाई उनीहरुको जीवनस्तर उकास्ने संवादको मुख्य लक्ष्य रहेको परियोजनाले जनाएको छ ।
परियोजनाका अनुसार यसको प्रारम्भिक उद्देश्य किशोरीहरूको जीवनशैलीमा सुधार ल्याउनु हो । जीवनसँग सम्बन्धित विषयमा किशोरीहरूको चेतना अभिवृद्धि तथा उनीहरूलाई आर्थिक तथा सामाजिक दृष्टिकोणबाट आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप र आयआर्जनका सीप प्रदान गर्नु संवादका मुख्य पक्षहरू रहेका एबिसी नेपालका कार्यक्रम संयोजक मनोज लामिछानेले जानकारी दिनुभयो ।
किशोर–किशोरीहरूको ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले २०÷२५ जना किशोर–किशोरीकोे सहभागिता रहने गरी विभिन्न समुदायमा संवाद केन्द्रहरू सञ्चालन भइरहेको उहाँको भनाइ छ । यस केन्द्रमा किशोर–किशोरीले आफ्नो जीवनलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने विषयहरू बालविवाह, दाइजो प्रथा, लैङ्गिक विभेद, किशोरावस्था, सरसफाइ, बचत, ऋण तथा आयआर्जन, स्थानीयस्तरका सेवा प्रदायक सरकारी तथा गैरसरकारी निकायहरू, मानव÷मौलिक÷महिला तथा बाल अधिकार, नागरिकका जिम्मेवारी, प्रकोप, प्रजनन स्वास्थ्य, प्राथमिक स्वास्थ्य, एचआइभी तथा एड्स, यौन रोग, लैङ्गिक समानता, चेलीबेटी बेचबिखन, सुरक्षित आप्रवासन, पारिवारिक कानुन र सामाजिक समावेशीकरणमा नियमित रुपमा छलफल गर्ने गरेका छन् । उनीहरूले १० वटा जीवनोपयोगी सीपहरू पनि प्राप्त गरेका छन् भने निरक्षर र इच्छा गरेका किशोरीहरूका लागि साक्षरता सीप अभिवृद्धि गर्न साक्षरता कक्षा पनि सँगै सञ्चालन गरिएको छ ।
उनीहरुले आयआर्जनका लागि व्यावसायिक शिक्षा पनि प्राप्त गर्दै आइरहेका छन् । यसलाई थप प्रभावकारिता बनाउन केही किशोरीलाई विभिन्न तालिम दिने तथा उपयुक्त मान्यता प्राप्त संस्थामा पठाइने गरेको कार्यक्रम संयोजक लामिछाने बताउनुहुन्छ ।
संवाद केन्द्रहरूको सञ्चालन स्थानीय एनिमेटरहरूले संवाद सञ्चालन निर्देशिका अनुसार गर्ने गरेका छन् । एनिमेटरले संवाद केन्द्रमा किशोरीहरुको नियमित उपस्थिति, आवश्यक सुपरीवेक्षण तथा प्रभावकारी सञ्चालन गर्न गठन गरिएको संवाद सहयोग समूहको आवश्यकताअनुसार सहयोग लिँदै आएका छन् । संवाद केन्द्रमा प्राथमिकताका आधारमा दलित तथा विपन्न परिवारका विद्यालय जाँदै नगएका निरक्षर किशोरीहरु, विद्यालय बीचमै छोडेका किशोरीहरु र कहिलेकाहीँ मात्र विद्यालय जाने किशोरीहरुको सक्रिय सहभागिता रहेको छ ।
हालसम्म रुपन्देही र नवलपरासी जिल्लाका १२ गाविसमा १०९ वटा संवाद केन्द्रमार्फत दुई हजार १८० किशोर–किशोरीले एक वर्षको संवाद अवधि पूरा गरिसकेका छन् भने ६१ वटा संवाद केन्द्रहरु अहिले सञ्चालनमा छन् । यहाँ एक हजार २०० भन्दा बढी किशोर–किशोरीहरु सक्रिय रुपमा संवाद प्रक्रिया सहभागी भइरहेका छन् ।
“संवाद सञ्चालनका नौ चरणमा किशोर–किशोरीहरुको सहभागिताले उनीहरुलाई सोच्न बाध्य बनाउँछ,” कार्यक्रम संयोजक लामिछाने भन्नुभयो – “विस्तारै आफूभित्र गुम्सिएर रहेका विभिन्न समस्या, सोचाइ र भावनाहरु संवाद केन्द्रमा व्यक्त गर्न उनीहरु उत्साहित हुन्छन् ।”
आफ्नो जीवनलाई बोझको रुपमा लिएका र भावनात्मक रुपमा कमजोर भएका त्यस्ता एक हजार २०० भन्दा बढी किशोरीले संवाद केन्द्रको नियमित छलफलमा सक्रिय सहभागी भई आफ्नो आत्मबल बढाएको उहाँको दाबी छ ।
उनीहरुले संवादमा सिकेका र बुझेका कुरालाई घरपरिवार र समुदायका मानिसलाई सुनाउने गरेका छन् । संवादमा सहभागी भएपछि एनिमेटर, संवाद सहयोग समूह र संवादका अन्य सहभागीहरुको सहयोगमा १४८ जना किशोर–किशोरीेले आफ्नो बालविवाह रोक्न सफल भएको एबिसी नेपालले जनाएको छ ।
एबिसीका अनुसार शिक्षाको महत्व नबुझेर र अन्य कारणले गर्दा बीचमै विद्यालय छोडेका ३०० भन्दा बढी किशोर–किशोरी संवादमा सहभागी भएपछि पुनः विद्यालय भर्ना भएका छन् । त्यसैगरी ५०० भन्दा बढी निरक्षर किशोर–किशोरीले आधारभूत साक्षरता प्राप्त गरेका छन् ।
संवाद केन्द्रका किशोर–किशोरीले गाविस कार्यालय तथा अन्य सेवा प्रदायक सङ्घसंस्था र कार्यालयसँग समन्वय तथा सहकार्य गरेर खुला दिशामुक्त गाविस बनाउने अभियान सञ्चालन गरिरहेका छन् । फलस्वरुप ४०० भन्दा बढी किशोर–किशोरीका घरपरिवारले शौचालय निर्माण गरिसकेका छन् । कतिपय गाविसलाई खुला दिशामुक्त गाविस घोषणा गर्ने कार्यमा विभिन्न कार्यक्रममार्फत योगदान पु¥याउँदै आएको परियोजनाले जनाएको छ ।
संवादमा सहभागी भएका किशोर–किशोरी अहिले सामाजिक चेतना अभिवृद्धि गर्ने विभिन्न अभियानको सञ्चालनका साथै नेपाल सरकारको साक्षरता गाविस घोषणा, विद्यालय भर्ना अभियान, १६ दिने महिला हिंसाविरुद्धको अभियान जस्ता कार्यमा हातेमालो गर्न सक्षम भएका छन् ।
संवादमा सिकेका राम्रा कुरालाई किशोर–किशोरीले आफ्नो जीवनमा लागू गरेको बताएका छन् । “जनचेतनाको अभावमा हामीले महिनावारी हुँदा प्रयोग गरेको कपडालाई लुकाएर राख्ने गर्दथ्यौँ,” नवलपरासी गर्मी गाविसकी किशोरी रोशनी गौणले भनिन् – “अहिले साबुन पानीले सफा गरी घाममा सुकाएर पुनः प्रयोग गर्ने गरेकी छु ।”
“संवाद परियोजनाका कारण हामीले बालविवाहको असर तथा प्रभावलाई घरपरिवारसम्म बुझाउन सफल भएका छौँ,” उनले भनिन् – “परियोजनाका सफल कार्यक्रमका कारण अधिकांश बालबालिकालाई बालविवाह हुनबाट जोगाएका छौँ ।”
संवादमार्फत उनीहरुले जन्म दर्ता, विवाह दर्ता, नागरिकता बनाउन पनि घरपरिवार तथा समुदायका मान्छेलाई कानुनी परामर्श दिन थालेका छन् । जाँड, रक्सी, चुरोट खैनी, बिँडी, सुर्ती खाने, जुवाताज खेल्ने ४० जना संवाद केन्द्रका किशोरले त्यस्ता दुव्र्यसनी र नराम्रा बानीको त्याग गरेका छन् । उनीहरुमा आफूभन्दा सानालाई माया गर्ने, ठूलालाई सम्मान गर्ने र परिवारको हरेक योजना तथा निर्णयमा सहभागी भएर सल्लाह सुझाव दिने, आवश्यकतानुसार कार्यविभाजन गरेर पारस्परिक सहयोग गर्नेजस्ता राम्रा बानीको विकास भएको छ ।
संवादमा सक्रिय सहभागी भएका एक हजार एक सयभन्दा बढी किशोर–किशोरीले कृषि तथा गैरकृषिमा आधारित विभिन्न आयआर्जन र सीपमूलक तालिम प्राप्त गरेका छन् । उनीहरुमध्ये ३०० भन्दा बढी किशोर–किशोरीले विभिन्न कृषि तथा गैरकृषिमा आधारित आयआर्जन क्रियाकलाप सञ्चालन गरेका छन् जसबाट उनीहरुले मासिक रु तीन हजारभन्दा बढी आम्दानी गर्न थालेका छन् । यसरी संवादले किशोर–किशोरीको चौतर्फी विकासका साथै समुदायिक विकास कार्यमा ठूलो योगदान पु¥याइआएका छन् । रासस












प्रतिक्रिया