काठमाडौँ, १६ पुस । भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा भारत र माल्दिभ्स आमनेसामने हुँदैछन् ।
भारतको केरलास्थित त्रिवेन्द्रम रङ्गशालामा आज दिउँसो ४ बजे ६ पटकको उपाधि विजेता भारतले मादिभ्सको सामना गर्दै मैदानमा उत्रनेछ ।
भारत सन् १९९३, १९९७, १९९९, २००५, २००९ र २०११ को विजेता हो । प्रतियोगितामा भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने सोही समूहको उपविजेताको रुपमा माल्दिभ्स अन्तिम चारमा रहँदै सेमिफाइनलको यात्रा तय गर्न सफल भयो ।
त्यस्तै, समूह चरणको खेलमा भारतले नेपाललाई ४–१ गोलअन्तरले पराजित गरेको थियो भने श्रीलङ्कालाई २–० गोलअन्तरले पाखा लगाएको थियो ।
सोही प्रतियोगिताअन्तर्गत आजै हुने अर्को सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले श्रीलङ्काको सामना गर्नेछ ।
नेपालमा नै भएको अघिल्लो संस्करणको साफ च्याम्पियनसिपमा अफगानिस्तानले भारतलाई फाइनल खेलमा पराजित गर्दै उपाधि जितेको थियो । यसपटक पनि प्रतियोगिताको उपाधि चुम्ने लक्ष्यका साथ अफगानिस्तान मैदानमा उत्रनेछ । अफगानिस्तान समूह ‘बी’ को विजेता हो भने सोही समूहमा रहेको श्रीलङ्का उपविजेता हो । अफगानिस्तान र श्रीलङ्का आज बेलुका ७ बजे आमने सामने हुनेछन् ।
त्यस्तै, समूह चरणको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ४–० गोलअन्तरले पराजित गरेको थियो भने भुटानलाई ३–० तथा माल्दिभ्सलाई ४–१ गोलअन्तरले हराएको थियो ।
विभिन्न सात राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा नेपाल, भुटान र बङ्गलादेश भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । रासस















प्रतिक्रिया