३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा पूर्व-पश्चिम राजमार्ग सरसफाइ राष्ट्रिय अभियानको उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm-Kp-Oli-Jhapa-Sarsafai

दमक (झापा), १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान झापाको दमकमा पूर्व–पश्चिम राजमार्ग सरफाइ राष्ट्रिय अभियानको उद्घाटन गर्नुभएको छ ।

सरसफाइ अभियानमा सहभागी बन्नुहुँदै प्रधानमन्त्री ओलीले सुन्दर तथा समृद्ध मुलुक बनाउन सरसफाइ नै पहिलो कडी भएको बताउनुभयो । उहाँले अब मुलुकलाई सुन्दर बनाउन झापाबाट यो अभियानले निरन्तरता पाउने बताउनुभयो ।

गत पुस ९ गतेदेखि आजसम्म सञ्चालन भएको अभियानको समापनको अवसर पारेर आयोजना गरिएको सो राजमार्ग सरसफाइ कार्यक्रममा कानुन तथा न्याय संसदीय व्यवस्था मन्त्री अग्नी खरेल, स्थानीय विकास मन्त्रालयका सचिव माधव रेग्मीलगायतको उपस्थिति रहेको थियो । अभियानमा सरसफाइदूत कलाकारद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरेलगायतको सहभागिता रहेको थियो ।

दमक बहुमुखी क्याम्पसको ३५औं स्थापना दिवसलाई उद्घाटन गर्न आज बिहान आफनो गृहक्षेत्र आउनुभएका प्रम ओलीले सोही अवसरमा दमकस्थित पूर्वपश्चिम राजमार्गमा निर्माण हुनलागेको आकासे पुलको शिलान्याससमेत गर्नुभएको छ । रु दुई करोड चार लाखको लागतमा निर्माण हुन लागेको सो आकासे पुलको प्रधानमन्त्री ओलीले वैदिक विधिअनुसार शिलन्यास गर्नुभएको हो । आगामी २०७३ चैत २८ गतेभित्र निर्माण सम्पन्न हुने सो आकासे पुल राजधानी बाहिरको पहिलो भएको बताइएको छ ।

‘कन्काई प्रवीण’ निर्माण सेवाले ठेक्का पाएको सो पुल बनाउन गत जेठमा नै दमक नगरपालिकाले रु ३२ लाख पेश्कीसमेत दिएको तथा काम समयमा नै पूरा हुने नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिनुभयो ।

यसैगरी प्रधानमन्त्री ओलीले आजै धरमपुरस्थित कमलखोलामा निर्माण भएको पक्की पुलको उद्घाटनसमेत गर्दै हुनुहुन्छ । यसैगरी प्रधानमन्त्री ओलीले आज नै दमक बहुमुखी क्याम्पसको ३५औं स्थापना दिवसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै दमकस्थित आम्दा अस्पतालको आइसियू भवनको शिलन्यास गर्ने कार्यक्रम तय भएको छ । यसरी नै दमक नगरपालिकाको निर्माण हुन लागेको कार्यालय भवनको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको छ । रासस