काठमाडौं, १६ पुस । नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मुलुकभरि विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । मेलमिलाप दिवस मनाउनकै लागि कांग्रेसका पदाधिकारी तथा केन्द्रीय नेताहरू विभिन्न जिल्ला पुगेका छन् ।
कांग्रेस सभापति सुशील कोइराला पोखरा हुँदै आज स्याङ्जा जाँदै हुनुहुन्छ । कोइराला स्याङ्जामा हुने कांग्रेसको कार्यक्रममा सहभागी हुने स्रोतले जनाएको छ ।
उता, कांग्रेसका महामन्त्री प्रकाशमान सिंह पनि चितवनमा हुनुहुन्छ । मेलमिलाप दिवसका अवसरमा चितवनको भरतपुर अस्पतालमा आज बिहान बिरामीलाई फलफूल पनि बितरण गर्नुभएको छ ।
त्यसै गरी कांग्रेसका भातृ एवम् शुभेच्छुक संस्थाहरूले पनि ३९ औँ राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालेको नेताहरूले जनाएका छन् ।
पुस १६ अर्थात आजकै दिन ३९ वर्ष अगाडि भारतमा निर्वासित विपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो । मुलुकको राष्ट्रियतामा खतराको आभास पाएपछि विपी कोइरालाले ‘मेरो र राजाको टाउको जोडिएको छ’ भन्ने अभिव्यक्तिका साथ स्वदेश आइ राष्ट्रियताका पक्षमा उभिनु भएको थियो ।
यद्यपि, विपीलाई त्रिभुवन विमानस्थलबाट तत्कालीन सरकारले पक्राउ गरी लामो जेलजीवनमा राखेको थियो ।
सोही दिनको सम्झनामा कांग्रेसले पुस १६ अर्थात आजका दिन हेरक वर्ष राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ ।












प्रतिक्रिया