२३ कार्तिक २०८३, सोमबार

कांग्रेसमा क्रियाशील सदस्यताको किचलो बढ्दै, सानेपामा अनसन र धर्ना दिने थपिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

टंकप्रसाद उपाध्याय, सभापति, कांग्रेस जिल्ला कार्यसमिति डोल्पा
टंकप्रसाद उपाध्याय, सभापति, कांग्रेस जिल्ला कार्यसमिति डोल्पा

काठमाडौं, १४ पुस । क्रियाशील सदस्यता वितरणको विवादले नेपाली कांग्रेसलाई चौतर्फी रुपमा दबाव दिँदै छ । विवाद बढ्दै गएपछि कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिनेको संख्या थपिँदैछ ।

क्रियाशील विवादका कारण चित्त दुःखाएका डोल्पा जिल्लाका सभापति टंकप्रसाद उपाध्याय अनसनमा बस्नुभएको छ । उहाँले जिल्ला कार्यसमिति डोल्पाले केन्द्रमा बुझाएको सदस्यताको फारमअनुसार क्रियाशील सदस्यता दिनुपर्ने माग गर्नुभयो ।

‘कांग्रेसका केही नेताहरुले डोल्पाको क्रियाशील सदस्यता वितरणमा गलत सिफासिर गरेको थाहा पाएको छु’, उहाँले भन्नुभयो, ‘जिल्लाको सभापति म हुँ । मलाई नै बेवास्ता गरेर अरुले पठाएको क्रियाशील सदस्यता वितरण गर्नु हुँदैन ।’

त्यसै गरी सोलुखुम्बु जिल्लामा पनि क्रियाशील सदस्यता वितरणको विवाद बढेको छ । केन्द्रीय सदस्य एवम् सोलुखुम्बुका नेता बलबहादुर केसी आफै धर्ना एवम् अनसनमा बस्नुभएको छ । आफू समर्थक दजर्न नेता तथा कार्यकर्तालाई लिएर केसी सानेपास्थित पार्टी कार्यालयभित्र अनसनमा बस्नुभएको हो ।

नेता केसीले सोलुखुम्बुमा क्रियाशील सदस्यता वितरणमा गलत भएको बताउनु हुन्छ । उहाँले अहिले सिफारिस भएअनुसार गर्नै नहुने बताउनु भयो । सोलुखुम्बुका जिल्ला सभापति आङ्गेलु शेर्पाले आफ्नालाई मात्रै क्रियाशील सदस्यता दिन सिफारिस गरेको केसीको आरोप छ ।

उता, सोलुका सभापति शेर्पाले केसी समूहले क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको आरोप लगाएको छ । शेर्पा शेरबहादुर देउवा निकट मानिन्छन् भने केसी सुशील कोइराला समूहका हुन् ।

उता, कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित ‘केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति’ ले त्यसको प्रतिवेदन सभापति सुशील कोइरालालाई बुझाएको छ ।

समितिको प्रतिवेदनका सम्बन्धमा यही पुस १ गतेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा उठेका विचार र सुझावलाई समेत दृष्टिगत गरी तीन दिनभित्र प्रतिवेदन सभापतिलाई बुझाउनु पर्ने निर्णय गरेको थियो । साथै सभापतिले सो प्रतिवेदन तेह्रौँ महाधिवेशनका लागि गठन गरिएको निर्वाचन समितिमा पठाउनु पर्ने निर्णय गरिएको थियो ।

समितिले सभापति कोइराला निवास महाराजगञ्जमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमानसिंहलगायतको सहभागितामा प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित बुझाएको समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।

अब सभापतिले सो प्रतिवेदन निर्वाचन समितिलाई बुझाउने र सोहीअनुसार पार्टीको स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । कांग्रेस क्रियाशील सदस्यतामा सभापति र महामन्त्रीको अन्तिम हस्ताक्षरपछि मात्र आधिकारिक हुन्छ ।

कांग्रेसमा क्रियाशील सदस्यता विवाद देखिएपछि पार्टीले त्यसबारेमा छानबिन गरी विवाद समाधान गर्न केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा नेता रमेश लेखक र रामकृष्ण यादव सम्मिलित समिति गठन गरेको थियो ।

बलबहादुर केसी समूह अनसनमा
बलबहादुर केसी समूह अनसनमा

कांग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुँदैछ । महाधिवेशनको लागि गाउँ, वडा र नगर अधिवेशन आगामी माघ १५ गते, क्षेत्रीय अधिवेशन माघ २२ गते र माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने तालिका छ ।

कांग्रेसमा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता फारम भर्ने क्रममा संस्थापन पक्ष (सभापति कोइराला पक्ष) र वरिष्ठ नेता देउवा पक्षबीच आआफ्ना पक्षका सदस्यता बढाउने होडबाजी चलेका कारण केही जिल्लामा क्रियाशील सदस्यता विवाद देखिएको थियो ।

कांग्रेसको १२औँ महाधिवेशनमा तीन लाख १६ हजार ८६६ क्रियाशील सदस्य थिए भने हाल त्यो सङ्ख्या बढेर चार लाख ७० हजार ६५५ पुगेको छ । सो प्रतिवेदनअनुसार दुई लाख ५७ हजार ४०२ नवीकरण भएका क्रियाशील सदस्यता हुन् भने दुई लाख दुई हजार १७९ थपिएको नयाँ सदस्यता हो ।

त्यस्तै, २३ देशमा रहेका जनसम्पर्क समितिबाट प्राप्त कुल सदस्यता सङ्ख्या एघार हजार ७४ रहेको समितिको प्रतिवेदनमा छ ।

पार्टीको निम्न तहको गाउँ र नगरका वडाको निर्वाचनमा क्रियाशील सदस्यताले महत्वपूर्ण प्रभाव पार्ने भएकाले दुवै पक्ष यतिखेर आआफ्ना गुटका सदस्यता पारित गर्न लागिपरेका छन् । गाउँ र नगर वडाका निर्वाचित प्रतिनिधिले नै पार्टीको नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्छन् ।